जुम्लाका ६० वटै वडामा सहमतिका आधारमा नेतृत्व चयन



जुम्ला। सत्तारुढ दल नेपाली कांग्रेसको १४ औं महाधिवेशन सुरु भएको छ।

यसै क्रममा जुम्लाका ६० वटै वडामा सहमतिका आधारमा नेतृत्व चयन गरिएको छ। कांग्रेसका युवा नेता तथा संगठन विभाग प्रमुख लक्ष्मण शाहीका अनुसार शुक्रबार वडा अधिवेशन सहमतिका आधारमा सम्पन्न भएको हो।

नेता शाहीले सामाजिक सञ्जाल फेशबुकमा लेखेका छन्, ‘वडा तहदेखि अधिवेशनको प्रकृया आरम्भ भएर केन्द्रीय महाधिवेशनसम्म एउटा आकर्षक सांगठनिक पिरामिड निर्माण हुने गौरवशाली वैधानिक परम्पराको श्रीगणेश आजबाट सुरुभै जुम्ला जिल्लाका ६० वटै वडामा सहमतिका साथ अधिवेशन सफल भएको छ।’

उनले अब ७ वटै स्थानीय तहमा पनि सहमति, सहकार्य र एकताका साथ अधिवेशन सफलता पूर्वक सम्पन्न गर्न जिल्लाका नेता तथा कार्यकर्ताहरुलाई अनुरोध गरेका छन्। उनले लेखेका छन्, ‘वडा तहदेखि नै पार्टीभित्रको आन्तरिक प्रतिष्पर्धालाई मित्रवत् बनाउँदै आपसि एकता र विश्वासमा आधारित नेपाली कांग्रेसको आगामी गति र परिचालनले मुलुकको भाग्य र भविष्य कोर्नु पर्नेछ। लोकतान्त्रिक व्यवस्थाको औचित्य र गरिमालाई उच्च राख्नु पर्नेछ। पार्टी, लोकतन्त्र र सिंगो राष्ट्रको वहु-आयामिक भविष्य निर्माणको जगमा उभिएका तमाम क्रियाशील साथीहरूको सुझबुझपूर्ण निणर्यप्रति म धेरै खुशि छु।’

उनले अगाडि लेखेका छन्, ‘लोकतन्त्रवादीहरूको रगतले सिंचित रक्तरन्जित चारतारे झन्डा हाम्रो शान, मान र गरिमालाई उचो राख्दै पार्टीभित्र अघिल्लो पुस्ताको सम्मान युवा पुस्ताको साथ र पछिल्लो पुस्ताको आकर्षणमा मात्रै कांग्रेस पार्टी जीवन्त रहने विश्वासका साथ पार्टीको १४औं अधिबेशनको तयारीमा छौं। नवीन विचार, उदार मनोभावना, कुशल संगठक, उर्जाशील क्षमता र नैतिकवान व्यक्तित्वहरूको चयन पार्टीको भविष्यसँग जोडिएको विषय हो। गुटनिहित स्वार्थका लागि बनेका अस्थायी संरचाना हुन। त्यसैले हामी मजबुत र स्थाइ कांग्रेसका लागि व्यक्ति प्रधानता हैन विचारको प्रधानतालाई आत्मा सम्झने साथिहरु एक ठाउँमा उभिन जरुरी छ।’