एमाले उपाध्यक्ष गौतमले दिए पार्टीबाट राजीनामा



काठमाडौँ। नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टीबाट राजीनामा दिएका छन्।

गौतमले शुक्रबार पार्टी केन्द्रीय कार्यालय थापाथली पुगेर एमालेका सबै पदबाट राजीनामा दिएको गौतमका स्वकीय सचिव दिपक टमाटाले रातोपाटीलाई जानकारी दिए।

एमालेको नवौँ राष्ट्रिय महाधिवेशनबाट उपाध्यक्षमा निर्वाचित गौतम नेकपा एकीकरणपछि पनि उपाध्यक्ष बनेका थिए। उनी नेकपा विभाजनपछि दुवै पक्षमा नलागी एकता अभियान चलाइरहेका थिए। केही दिनअघि गौतमले रातोपाटीमार्फत राजीनामा दिने घोषणा गरेका थिए। गौतमले एमाले अध्यक्ष केपी ओलीप्रति असन्तुष्टि जनाउँदै राजीनामा दिएको बताएका छन्।

उनले भनेका छन्, ‘तपाईं नेकपा एमालेको नवौँ राष्ट्रिय महाधिवेशनबाट पारित कार्यदिशालाई कहिल्यै पनि अवलम्बन गर्नुभएन। नेपालको संविधान २०७२ जारी भएपछि पहिलो प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा नेकपा एमाले र माओवादी केन्द्रको साझा घोषणापत्रलाई तपाई प्रधानमन्त्री भएपछि आफ्नो कार्यकाल भरी त्यसलाई लागु गर्नुभएन। तपाईंले गर्नुभएका कतिपय कामहरूलाई पटक पटक सर्वोच्चका संवैधानिक इजलासले असंवैधानिक भन्दै खारेज गरेपछि पनि तपाईंले आफूलाई सुधार गर्न सक्नुभएन।’