भारतीय हेलिकप्टर निरन्तर दार्चुलाको आकाशमा, रोक्न पत्राचार



दार्चुला। दार्चुलाको महामालीमा साउन १५ मा भारतीय सीमा सुरक्षा बल ‘एसएसबी’ ले तुइनको लठ्ठा खुस्काईदिएपछि नेपाली युवा जयसिंह धामी महाकालीमै बिलाए। सो घटनाको छानविन गर्न गृह मन्त्रालयले जनार्दन गौतमको नेतृत्वमा टोली नै गठन गर्यो र दार्चुला पठायो।

मन्त्रालयले गठन गरेको उक्त छानविन समितिले दार्चुला पारीपट्टी भारतको गस्कु इलाकामा खटिएका एसएसबीको उपस्थितीमा तुइनको लठ्ठा खुस्काउँदा ३३ वर्षीय धामी महाकालीमा खसेको निष्कर्ष सहितको प्रतिवेदन बुझाएको छ।

गृह मन्त्रालयले गठन गरेको छानविन समितिले प्रतिवेदन बुझाएसँगै भारतले दार्चुलामा अर्को ज्यादती शुरु गरेको छ। पछिल्लो ३ दिनयता भारतीय पक्षले दार्चुला सदरमुकाम खलंगा क्षेत्रमा २ दिन निरन्तर हेलिकप्टर उडाउन थालेको दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले बताए।

उनले भने, ‘खलंगा क्षेत्रमा हेलिकप्टर उड्न थालेपछि हामीले सो क्षेत्रमा हेलिकप्टर नउडाउन भनेका छौ। हामीले सो कार्य रोक्न भन्दै पत्र पनि पठायौं तर, जवाफ आएको छैन।’

दुई दिनअघि भारतीय पक्षले महाकाली नदीको किनारमा मात्र हेली उडाउने गरेको थियो। तर, भारतले तीन दिनयता खलंगास्थित नेपाली सेनाको गुरु गोरखा गुल्म हेडक्वार्टर, सशस्त्र प्रहरी बलको दार्चुलास्थित कार्यालय र राष्ट्रिय अनुसन्धान विभागको कार्यालयलाई लक्षित गरेर हेलिकप्टर उडाइरहेको उनले बताए।

यस्तै, सुदूरपश्चिम प्रदेश सरकारको कानुन मन्त्रालय र गृह मन्त्रालयलाई पनि यसबारे जानकारी गराएको उनले बताए। स्थानीय प्रशासनले पिथौरागढका प्रमुख जिल्ला अधिकारीलाई पत्र लेखेर उडान रोक्नुपर्ने भन्दै आपत्ति जनाएको हो।

पत्रको बोधार्थ धार्चुलालाई पनि पठाइएको प्रजिअ जोशीले बताए। जिल्ला प्रशासन कार्यालय दार्चुलाले सो बारेमा प्रदेश सरकार र गृह मन्त्रालयलाई पनि जानकारी दिएको भए पनि यसबारे कुनै प्रतिक्रिया नआएको बताईएको छ।