रोनाल्डोले २००५ मै भनेका थिए: म संसारकै उत्कृष्ट खेलाडी बन्न चाहन्छु



काठमाडौं। पोर्चुगलका फुटबल स्टार क्रिस्टियानो रोनाल्डोले ११० औं अन्तर्राष्ट्रिय गोल गरेका छन् । यससँगै उनी आफ्नो मुलुकको लागि सबैभन्दा धेरै गोल गर्ने खेलाडी बनेका छन् । यद्यपि उनको पोर्चुगलको टोलीको यात्रा भने अझै सकिएको छैन ।

सन् २००५ मा फर्किँदा, अबको १६ वर्षपछि रोनाल्डो अन्तर्राष्ट्रिय फुटबल इतिहासमा सबैभन्दा धेरै गोल गर्ने खेलाडी बन्नेछन् भनेर सायदै कसैले सोचेका थिए ।

तर रोनाल्डोले सोचेका थिए। र आफ्नो सोच पुरा गरेर देखाएका छन् । २००५ मा रोनाल्डो २० वर्षका थिए र उनले म्यानचेस्टर युनाइटेडका लागि दुई सिजन खेलिसकेका थिए। उनले पहिलो सिजनमै क्लबका लागि उपाधि जिताउन सक्ने खेल प्रदर्शन गरेका थिए।

खेलको क्रममा गोलीगाँठोमा चोट लागेपछि रोनाल्डोले अमेरिकामा उपचार गराइरहेका थिए । सोही क्रममा उनले लिभरपुल र एभर्टनबाट खेलिसकेका राइट–ब्याक अबेल जाभियरलाई भेटे । पोर्चुगलको अन्तर्राष्ट्रिय फुटबल टोलीका सदस्य रहिसकेका जाभियरसँग उनले आफ्नो इच्छा सुनाए, म विश्वको सबैभन्दा उत्कृष्ट खेलाडी बन्न चाहन्छु ।’

जाभियर भन्छन्, ‘उनी चोटसँग जुधिरहेका थिए। त्यस्तो बेला जुन मनोबल देखाए, त्यो अद्भूत थियो । चोट लागेपछि धेरै खेलाडीको आत्मविश्वास कमजोर हुन्छ, तर उनी विश्वको सबभन्दा उत्कृष्ट खेलाडी बन्छु भन्ने अठोडमा दृढ थिए’, जाभियर सम्झिन्छन् ।

त्यतिबेला रोनाल्डो गलत थिएन। किनकी विश्वको उत्कृष्ट खेलाडी बन्ने इच्छा २००५ अघि नै पलाएको थियो। रोनाल्डो किशोरावस्थामा स्पोर्टिङ एफसीमा आवद्ध हुँदा उनको शरीर सानो थियो।

त्यही कारण साथीहरुले उनको नाम ‘नूडल्स’ राखिदिए। रोनाल्डोलाई भने यो नाम मन पर्दैनथ्यो। त्यसैले उनले आफ्नो तौल र मांसपेशी बढाउने अभ्यास गर्न थाले। सन् २००३ मा म्यानचेस्टर युनाइटेडमा आबद्ध हुँदा पनि उनले त्यस्तै किसिमको सोच थियो।

युनाइटेडका पूर्वप्रशिक्षक मिक क्लेजसँग निकट रहेर काम गरेका रोनाल्डोले विश्वकै उत्कृष्ट खेलाडी बन्न सहयोग मागेका थिए । उनले लगातार कडा महेनत गरे, र खेल सुधार गरिरहे।

‘एकदिन म मड्रिडमा च्याम्पियन्स लिग हेरिरहेको थिएँ। सायद त्यो खेल रियल मड्रिड र बार्यन म्युनिखबीच थियो,’ पोर्चुगलका पूर्व खेलाडी कोटिन्हा सम्झिन्छन्, ‘उनीहरुले लगातार गोलका लागि प्रहार गरिरहेका थिएँ र २० ओटा प्रहारमध्ये एउटा प्रहारमात्र फ्रेममा परेन।’

उनले अघि भने, ‘अधिकांश अन्य खेलाडी २० मध्ये ६ देखि १० प्रहारमा चुक्ने गर्छन् । तर, जब उनले एउटा प्रहारमा चुके, सबैले उनको मजाक उडाउन थाले र उनी निकै दुःखी बने । मलाई भने उनले २० ओटामा एउटा मात्र प्रहारमा चुकेका हुन् भन्ने लाग्यो।’

विश्वकै उत्कृष्ट खेलाडी बन्छु भन्ने भोकले उनलाई सधैं राम्रो खेल प्रस्तुत गर्न सहयोग गरिरहेको थियो । ‘उनको मनोबल र उनको पेशाले नै उनलाई अरु सबभन्दा भिन्न बनाएको छ’, रोनाल्डोसँगै फुटबल खेलेका पोर्चुगलका पूर्व खेलाडी नुनो गोमेज भन्छन्।

विश्वकै उत्कृष्ट खेलाडी बन्छु भन्ने भोकले उनलाई सधैं राम्रो खेल प्रस्तुत गर्न सहयोग गरिरहेको थियो । ‘उनको मनोबल र उनको पेशाले नै उनलाई अरु सबभन्दा भिन्न बनाएको छ’, रोनाल्डोसँगै फुटबल खेलेका पोर्चुगलका पूर्व खेलाडी नुनो गोमेज भन्छन् ।

जाभियर भन्छन्, ‘उनलाई राम्रो फुटबल खेल्न राम्रो क्लब तथा टोलीका साथै राम्रो प्रशिक्षक र वातावरणले पनि सहयोग गरेको थियो । सवभन्दा महत्वपूर्ण चाहिँ उनले मनोबल नै हो ।’

‘क्रिस्टियानोको खेल हेर्दा र उनले व्यवहार हेर्दा मलाई उनी किन राम्रा खेलाडी हुन् भन्ने महसुस भयो । उनलाई किन सबैले उत्कृष्ट खेलाडी भन्छन् भन्ने महसुस भयो र मैले सबैभन्दा पहिला आफैंलाई सुधार्नु पर्छ भन्ने सोचें । त्यो उमेरमा म पनि राम्रो खेलाडी थिएँ तर म त्यो स्तरको खेलाडी भने थिइनँ’, पोर्चुगलका अर्का खेलाडी नानी भन्छन् ।

उनकाअनुसार रोनाल्डो सानैदेखि अन्य खेलाडीभन्दा फरक थिए । उनी सधैं आफ्नो खेल सुधार्न र नयाँ केही सिक्न चाहन्थे। उनी सबभन्दा पहिला टोलीको अभ्यासमा पुग्ने र आफूभन्दा पुराना साथीहरुसँग कुरा गर्न र उनीहरुबाट सिक्न रुचाउँथे।

त्यही मेहनतका कारण रोनाल्डोले फुटबलमा एकपछि अर्को कीर्तिमान पनि बनाएका छन्। उनले इंगल्याण्ड, स्पेन र इटालीमा क्लबका लागि धेरै उपाधि जिताइसकेका छन्। त्यस्तै उनले व्यक्तिगततर्फ पनि पाँच पटक बालन डे’ओरको उपाधि जितिसकेका छन्।

च्याम्पियसिप लिगको इतिहासमा सबभन्दा धेरै गोल गर्ने खेलाडी हुन्। अहिले सबैभन्दा महत्वपूर्ण उनले पोर्चुगलको इतिहासकै उत्कृष्ट खेलाडी बन्न सफल भएका छन्। उनले पोर्चुगलको तर्फबाट सबभन्दा धेरै अन्तर्राष्ट्रिय गोल गर्ने कीर्तिमान राखेका छन्। यस्तोमा अब उनले यो कीर्तिमान कतिसम्म अघि बढाउँछन् भन्ने हेर्न बाँकी छ।

‘तपाईँले उनको शरीर हेर्नुहुन्छ भने उनको उमेरसँग मेल खाँदैन’, जाभियर भन्छन्, ‘उनको प्रदर्शन हेर्नुहुन्छ भने उनी अझै पनि युवा र भर्खरै आएको खेलाडीजस्तो देखिन्छन्।’