घुस मागेको आरोपमा माओवादी कार्यकर्ता पक्राउ



काठमाडौँ। प्रहरी हिरासतमा रहेका थुनुवालाई ‘छुटाउँछौँ’ भनेर घुस माग्ने नेकपा माओवादी केन्द्रका दुईजना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा कालिकोट घर भएका तिलक बहादुर उपाध्याय र रोल्पाका दत्त बुढा छन्।

उपाध्याय माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य हुन्। रोल्पा घर भएका दत्त पूर्व विद्यार्थी नेता हुन्। महानगरीय प्रहरी वृत्त स्वयम्भूको हिरासतमा रहेका जुवाडेहरुलाई छुटाउँछौँ भनेर उनीहरुले घुस लिएको अनुसन्धानबाट खुलेको काठमाडौं परिसरका प्रवक्ता (एसपी) रमेश बस्नेतले रातोपाटीलाई बताए।

जुवा खालबाट पक्राउ परेकाहरूसँग उनीहरुले ३ लाख नगद लिएका थिए। डिएसपी, सिडिओ र सरकारी वकिललाई ‘मिलाउनुपर्छ’ भनेर घुस लिएको हिरासतमा रहेकाहरूका आफन्तले सुराक दिएपछि प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले बुधवार उनीहरुलाई पक्राउ गरेको हो। घटनाबारे महानगरीय प्रहरी वृत्त स्वयम्भूले अनुसन्धान गरिरहेको छ।