‘नेपालले भारतविरुद्धका दुवै खेल जित्नका लागि खेल्नेछ’



काठमाडौँ। नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले भारतविरुद्धको दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल जितकै लागि खेल्ने बताएका छन्। बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रशिक्षक अल्मुताइरीले नेपालको प्रदर्शन गर्व गर्न लायक हुने पनि बताए।

प्रशिक्षक अल्मुताइरीले प्रि म्याच कन्फ्रेन्समा भने, ‘भारत निकै बलियो टिम हो, फिफा वरीयतामा हामीभन्दा निकै माथि छ। दुई टिमबीचको इतिहासमा पनि भारत नै अगाडि छ। तर पनि हामी जितकै लागि खेल्नेछौं। हाम्रो प्रदर्शन कसैलाई खुसी पार्न हुने छैन्, बरू टिमको प्रदर्शन गर्व गर्नलायक हुनेछ। हाम्रो उद्देश्य पक्कै पनि बराबरीका लागि हुने छैन।’

उनले थपे, ‘एक महिनापछि हामी साफ च्याम्पियनसिप खेल्दैछौं र हाम्रो मुख्य उद्देश्य भनेको त्यसै प्रतियोगितामा राम्रो गर्नु हो। त्यसैले पनि अहिलेको मैत्रीपूर्ण खेल त्यसकै तयारीका रूपमा पनि हुनेछ। हामीले यसपल्टको मैत्रीपूर्ण खेमला केही नयाँ खेलाडीलाई मौका पनि दिनेछौं।’ त्यस अवसरमा भारतीय प्रशिक्षक इगोर स्टिमेकले नेपालविरुद्धको खेल सजिलो नहुने बताए। दुई खेल शृंखलाको पहिलो प्रतिस्पर्धा बिहीबार दशरथ रंगशालामा हुँदैछ।