सुदूरपश्चिमका १३ जना सांसद समाजवादी पार्टीमा



काठमाडौँ। सुदूरपश्चिम प्रदेशसभामा एमालेका २५ सांसदमध्ये १३ जना माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीमा सामेल हुने भएका छन् ।

प्रदेश सरकारमा सामेल तीन मन्त्री, तीन राज्यमन्त्रीसहित जम्मा १३ सांसदले एमाले छाडेर नेकपा एकीकृत समाजवादी पार्टीमा रहने गरी निर्वाचन आयोगको कार्यालयमा सनाखत गराउन लागेका हुन्।

आजै निर्वाचन कार्यालयमा गएर सनाखत गराउने तयारी भइरहेको प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री दिर्घ सोडारीले रातोपाटीलाई जानकारी दिए । ‘सनाखतका लागि निर्वाचन आयोगले २२ गतेसम्मको समय दिएको भए पनि हामी आजै सनाखत गर्ने तयारीमा छौैँ,’उनले भने ।

प्रदेश निर्वाचन अधिकारी प्रेम भट्टले पनि आज सनाखतका लागि प्रदेशसभा सदस्यहरु आउने जानकारी प्राप्त भएको बताए। सोडारीका अनुसार हाललाई १३ जना सांसदले नेकपा एकीकृत समाजवादीका पक्षमा सनाखत गराउने भए पनि २२ गतेभित्र अन्य केही सदस्यसमेत थप हुन सक्नेछन्।

यसअघि प्रदेशसभामा सभामुखसहित एमालेका २५ सांसदमध्ये १८ जना माधव नेपाल समूहमा र ७ जना केपी ओली समूहतिर खुलेका थिए । दल विभाजन भइसकेको अवस्थामा माधवकुमार नेपालको पक्षमा केही सांसद घटेको बताइन्छ । सुदूरपश्चिममा एमालेका प्रभावशाली मानिने नेता तथा पार्टीका उपाध्यक्ष भीम रावल एमालेतिरै फर्किएपछि माधवकुमार नेपाल पक्षका केही सांसद एमालेमै रहने निर्णयमा पुगेको स्रोत बताउँछ।

नेकपा एकीकृत समाजवादी पार्टीका पक्षमा दिर्घ सोडारी, पूर्णा जोशी, लालबहादुर खड्का, बलबहादुर सोडारी, अमरबहादुर साउद, चुनकुमारी चौधरी, मना साउद, तारा लामा तामाङ, अर्चना गहतराज, कुलवीर चौधरी, सुशीला बुढाथोकी, दुर्गा कामी र माया भट्टले निर्वाचन कार्यालयमा सनाखत गराउन लागेका हुन् ।