अमेरिकी सेना फिर्ता: तालिबानद्वारा खुसियाली



काठमाडौँ। अमेरिकाले झण्डै २० वर्षपछि पूर्णरुपमा अफगानिस्तान छाडेको छ। यसअघि तालिबानले विदेशी सेना फिर्ताको लागि समयसीमा तोकेकै दिन अगष्ट ३१ मै अमेरिका पूर्णरुपमा फिर्ता भएको हो।

अफगानिस्तानको राजधानी काबुलबाट अमेरिकी राजदूत रस विल्सन र अमेरिकी कमाण्डर जनरल क्रिश डोनाह्यु गएरातिको अन्तिम उद्धार उडानमा सहभागी भएका थिए।

अमेरिकाको अन्तिम उद्धार उडानअन्तर्गत काबुलस्थित हमिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थलबाट सी–सेभेन्टीन विमान उडेलगत्तै तालिबानहरूले आकाशमा रातो प्रकाश छरेर र मेसिन गनमार्फत गोली चलाएर खुशीयाली मनाएको बीबीसीले जनाएको छ।

अमेरिकी सेनाको केन्द्रीय कमाण्डका प्रमुख जनरल फ्र्याङ्क मकेन्जीले पेन्टागनमा आयोजित प्रेस ब्रिफिङमा सन् २००१ को सेप्टेम्बर ११ देखि अफगानिस्तानमा सुरु भएको युद्ध पूर्णरुपमा बन्द भएको घोषणा गरे।

अमेरिकी फौज फिर्ता हुन थालेदेखि नै तालिबान समूहले अफगानिस्तान कब्जा अभियानलाई तीव्र पारेको थियो। तालिबान लडाकुहरु राजधानी काबुल प्रवेश गरेलगत्तै त्यहाँका राष्ट्रपति असरफ घानीले देश छाडेका थिए। त्यसपछि सुरु भएको उद्धार उडानको क्रममा अमेरिकाले १ लाख २३ हजार अफगान नागरिकलाई उद्धार गरेको छ।

अमेरिकी सेना पूर्णरुपमा फिर्ता भएसँगै अब काबुल विमानस्थललाई तालिबानले आफ्नो हातमा लिने छ। तालिबानले अब विमानस्थलमा व्यापारिक उडानको शुरुवात गर्ने र कागजात भएका व्यक्ति देशबाहिर जान पाउने बताएको छ।