सुर्खेत्। कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री कुर्मराज शाहीमाथि लागेको बलात्कारको आरोप निराधार भएको भन्दै पीडित पक्षले पत्रकार सम्मेलन गरेर स्पष्ट पारेको छ।
सोमबार प्रदेश राजधानी सुर्खेतमा पत्रकार सम्मेलन गरेर बलात्कृत भनिएकी पीडित महिलाले आरोपित मन्त्री शाहीले आफूमाथि कुनै किसिमको अनैतिक तथा हिँसा नगरेको स्पष्ट पारेकी हुन्। शुभकालिका गाउँपालिका ८ कालीकोटक सेजुवालवाडाकी पीडित एक महिलाले सुर्खेतमा पत्रकार सम्मेलनमार्फत आफूमाथि कुनै बलात्कार नभएको जानकारी दिएकी हुन्।
उनले भनिन्, ‘मलाई जुन विषयमा मन्त्री र मेरो नाम जोडेर बलात्कार गरेको झुट आरोप लगाईएको छ। यो सरासर गलत हो। मेरो व्यक्तिगत जीवनमा कसैले चरित्र हत्या गर्न खोज्छ भने म उसैको नाममा चिठी लेखेर मर्छु र सोही मिडिया जवाफदेही हुनेछ भनेर समाचार आउने बित्तिकै लेखिसकेको थिए।’
ति महिलाले पीडित भएको आफैलाई थाहा नभएको बताएकी छन्। उनले विना कारण आफूले नखाएको विष लागेको भन्दै आश्चार्य व्यक्त गरेकी छन्। उनले भनिन, ‘न म अन्याय छु नत म बलात्कृत महिला हो। ममाथिको बलात्कारको विषय थियो भने मलाई किन सोधिएन ? एक कल फोन किन गरिएन? अनुमति बिना अर्काको नीजि जीवनलाई लिएर समाचार लेख्न पाईन्छ ? मलाई पत्रकार र सामाजिक सञ्जालले जबरजस्ती बलात्कृत पात्र बनाउँदैछन्।’
उक्त विषयलाई लिएर आईतबार युवा संघ र अनेरास्ववियुले गरेको आन्दोलनप्रति आपत्ति जनाउँदै आफ्नो ईज्जतलाई साधन बनाएर राजनीति स्वार्थ पूरा गर्न खोजिएको पीडितको आरोप छ। यहि विषयबाट आफ्नो जीवन केही भए त्यसमा स्वयं मिडिया र व्यक्ति जवाफदेही हुनुपर्ने उनीहरुको भनाई छ।
पीडितका श्रीमान आयुष सेजुवालले आफ्नो श्रीमतीलाई गोटी बनाएर रिस साँध्न र राजनीतिक लाभ लिन खोजिएको आरोप लगाएका छन्। उनले भनेका छन्, ‘यस विषयमा कसैलाई समाचार लेख्न भनेर गुहारेको छैन। मेरो श्रीमती बलात्कार भएको छैन भन्दा पनि अरुलाई किन टाउको दुख्यो? मन्त्री र मेरो श्रीमतीबीच अनैतिक सम्बन्ध छ भनेर जुन भिडियो बनाईएको छ, त्यो फेक हो, फर्जी हो। विश्वास नलागे त्यसलाई राम्रोसँग जाँच्दा हुन्छ।’
श्रीमतीको चरित्र हत्या गरेर मन्त्रीको मानहानी गर्ने काम खेदजनक भएको टिप्पणी गर्दै सेजुवालले डिप्रेशनमा गएको परिवारलाई शान्ति सुरक्षाका साथ बाँच्न दिन र आगामी दिनमा त्यस्ता अफवाहका समाचार सम्प्रेषण नगरिदिन आग्रह गरेका छन्।