काबुल विमानस्थलमा फेरि शृंखलाबद्ध रकेट प्रहार



काबुल। अफगानिस्तानको काबुल अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार बिहानै झण्डै आधा दर्जन रकेट प्रहार गरिएको छ।

बीबीसीका अनुसार अमेरिकी क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीले ती रकेटलाई रोकेको थियो। अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइटहाउसले रकेट प्रहारको पुष्टि गरेको छ।

अमेरिकी सेनाले गत बिहीबारको आत्मघाती बम आक्रमणपछि आईएसआईएस–केविरुद्ध ड्रोन आक्रमण गरेपछि विमानस्थलमा रकेट प्रहार भएको हो। मंगलबारसम्म अमेरिकी सेना काबुल छोड्ने योजनामा छ।

अहिले उक्त विमानस्थल अमेरिकी सेनाकै नियन्त्रणमा छ। देश छोड्न चाहने अफगान नागरिक र त्यहाँस्थित आफ्ना नागरिकलाई विभिन्न देशले हवाइ उद्धार गरिरहेका बेला विमानस्थलमा आक्रमण बढेको छ।

गत बिहीबार आत्मघाती आक्रमणमा १३ अमेरिकी सेनासहित सय बढीको मृत्यु भएको थियो। सोमबार कम्तीमा पनि ५ रकेट प्रहार भएको बताइएको छ। हालसम्म कुनै घाइते वा मृत्युको विवरण प्राप्त भइसकेको छैन।