आखिर कति धनी छ तालिबान ?



काठमाडौँ। यस महिना तालिबानले लगभग पूरा अफगानिस्तानमाथि आफ्नो कब्जा जमाएको छ। अबको केही दिनमा अमेरिकाको नेतृत्व भएको पश्चिमी देशका सेनाले आफगानिस्तान छोडेर जानेछन्। यसै गरी, पछिल्लो दुई दशकदेखि दुई पक्षबीच चलिरहेको संघर्षमा सायद विराम लाग्नेछ।

तालिबानका लागि गठबन्धन सेनासँग संघर्ष निकै कठिन रह्यो। एकातिर उसँग संसारका दुनियाँको धनी देशका सेना थिए जोसँग न धनको कमी थियो न आधुनिक हतियार नै। अर्कोतर्फ तालिबानको स्थिति यी दुबै मामिलामा ती देशहरुको तुलनामा खासै विशेष थिएन। एक अनुमानका अनुसार सन् २०११ मा तालिबानी लडाकूको संख्या ३० हजार थियो। सन् २०२१ को मध्यमा उसको लडाकूको संख्या बढेर ७० हजारदेखि १ लाखको बीचमा रह्यो।

यस्तोमा यति ठूलो संगठन र चरमपन्थी अभियान चलाउनका लागि भारी आर्थिक मद्दतको आवश्यकता त पर्छ नै। यस्तोमा प्रश्न यो उठ्छ कि तालिबानले यसका लागि आर्थिक मद्दत कहाँबाट पाउँछ ? यो मद्दत देशभित्रबाट हुन्छ वा बाहिरबाट?

आखिर कति धनी छ तालिबान ?

तालिबानले अफगानिस्तानमा सन् १९९६ देखि सन् २००१ सम्म शासन गरेको थियो । तर चुनौती यो हो कि तालिबानको आयबारे यस्तो कुनै विश्वस्त र ठोस् जानकारी सर्वसाधारणबीच छैन। उनीहरु बारे धनको आवागमनलाई बुझ्नु एक प्रकारको अनुमान लगाउनु जस्तै हो। यद्यपि, बीबीसीले अफगानिस्तान भित्र र बाहिरका यस्ता थुप्रै मानिसहरुसँग कुराकानी गरेर अत्यधिक सुचना जुटाएको छ। यसमार्फत् थाहा हुन्छ कि तालिबानको आर्थिक ढाँचा निकै जटिल छ।

सन् २०११ मा तालिबानको वार्षिक आय लगभग ४६०० करोड रुपैयाँ थियो। तर बीबीसीले आफ्नो अनुसन्धानमा सन् २०१८ को अन्त्यसम्म यो आँकडा बढेर १७ हजार ५ सय रुपैयाँ भएको छ। अबको केही दिनमा नै उनीहरुले अफगानिस्तानको सरकार सञ्चालन गर्दैछन् । यस्तोमा उनीहरुको आय श्रोत निकै बढ्नेछ।

तालिबानको आम्दानीका चार प्रमुख स्रोत

तालिबानबारे एक आम धारणा यो छ कि उसको कमाईको मुख्य माध्यम अफिम र त्यसबाट बन्ने नशालु पदार्थ हेरोइन हो। तर, जानकारका अनुसार यो कुरा पूर्ण रुपमा सही होइन ।

जानकारका अनुसार अफिमबाहेक तालिबानको कमाई उसले कब्जा गरेको इलाकामा लगाइने विभिन्न प्रकारको करमार्फत् पनि हुन्छ। साथै, विदेशबाट पाउने चन्दा र खनिजको कारोबार पनि उसको कमाईको मुख्य स्रोत हो ।

वास्तवमा तालिबानको आयका चार प्रमुख स्रोत छन्ः

१.

विदेशबाट पाइने चन्दा

पूर्व अफगान सरकार र अमेरिकी अधिकारीले लामो समयदेखि पाकिस्तान, इरान, रुस, साउदी अरब, संयुक्त अरब इमिरेट्स, कतारसहित खाडी देशका थुप्रै देशले तालिबानलाई आर्थिक मद्दत गरिरहेको आरोप लगाउने गर्छन् । तालिबानसँग उनीहरुको यो सम्बन्ध निकै लामो समयदेखि रहँदै आएको छ । तर यी देशले यो कुरा कहिल्यै स्विकार गरेनन् ।

यस्तै पाकिस्तानसहित साउदी अरब, संयुक्त अरब इमिरेट्स, कतारजस्ता खाडी देशका नागरिक निजी रुपमा पनि तालिबानलाई मद्दत गरिरहेको मान्यता राखिन्छ ।

तालिबानले विदेशबाट पाउने मद्दतको सटिक आँकडा थाहा पाउन त असम्भव छ तर जानकारका अनुसार उसले हरेक वर्ष करिब ५० करोड डलर विदेशबाट पाइरहेको छ ।

यसअघि अमेरिकाको एक गोप्य रिपोर्टमा तालिबानले सन् २००८ मा विदेश विशेषगरी खाडी देशबाट १०.६ करोड डलर प्राप्त भएको अनुमान गरिएको थियो ।

२.

नशालु औषधीको कारोबार 

तालिबानले लामो समयदेखि अफिम, हेरोइनजस्ता नशालु औषधीको अवैध कारोबार गर्दै आएको धेरैले बताउने गर्छन् ।

स्मरण रहोस्, अफगानिस्तान संसारको सबैभन्दा ठूलो अफिम र हेरोइन उत्पादक हो । हेरोइन, अफिमबाट तयार हुन्छ । एक अनुमानका अनुसार अफगानिस्तानबाट हरेक वर्ष १.५ देखि तीन अर्ब डलरको अफिम अन्य देशमा पठाइन्छ ।

अफगानी अधिकारीका अनुसार तालिबानले किसानलाई अफिमको खेती गर्न लगाउँछ र उनीहरुबाट १० प्रतिशत कर पनि लिने गर्छ । यसबाहेक हेरोइन बनाउने प्रयोगशालाबाट पनि कर लिने गरिन्छ । यसमार्फत् तालिबानलाई हरेक वर्ष १० देखि ४० करोड डलरबीचको आय हुने अनुमान गरिन्छ ।

सन् २०१८ मा अमेरिकी कमान्डर जनरल जोन निकोलसनले एक रिपोर्टमा तालिबानले उसको आयको ६० प्रतिशत हिस्सा अवैध ड्रग्सको धन्धाबाट आउने बताएका थिए । यद्यपि, उनको यो अनुमानलाई धेरै जानकारले ‘यो त असाध्यै धेरै भयो’ भन्दै खारेज गर्छन् ।

३. इलाकामाथि कब्जा जमाउनु

तालिबानको आम्दानी अफिमको खेती र त्यसको बिक्रिबाट मात्रै हुँदैन । यसको प्रमाण सन् २०१८ मा अफगान कारोबारीको नाममा लेखिएको खुल्ला पत्र हो जसमा तालिबानले उनीहरुलाई तेल, निर्माण सामग्रीसहित थुप्रै उत्पादनको कर चुकाउनका लागि भनेको थियो ।

वास्तवमा जुन इलाकामा तालिबानको प्रभाव छ, त्यहाँ उनीहरुले मानिसहरुबाट विभिन्न प्रकारको कर असुल गरेका छन् । पछिल्लो दुई दशकमा पश्चिमी देशको राम्रै धन पनि नचाहँदा पनि तालिबानको गोजीमा पुगेको छ ।

सबैभन्दा पहिला, पछिल्ला दुई दशकमा संसारभरीका थुप्रै देशको मद्दतले देशमा सडक, स्कूल, अस्पताल आदि बनाइयो । तर तालिबानले यी सबै परियोजनाका लागि आवतजावत गर्ने गाडीमार्फत् पैसा लिए ।

पश्चिमी देशको सामानको ढुवानी गर्ने ट्रकबाट तालिबानले हरेक वर्ष करोडौं डलर बनाएको पनि अनुमान छ । उसले यसबाहेक अफगान सरकारद्वारा सर्वसाधारणलाई दिइएका सेवामार्फत् पनि अत्यधिक कमाई गरे ।

अफगानिस्तानको बिजुली कम्पनीका अध्यक्षले सन् २०१८ मा बीबीसीलाई दिएको जानकारी अनुसार बिजुलीको प्रयोग गर्नेबाट तालिबानले पैसा असुल गर्छ । उनले यसबाट तालिबानले हरेक वर्ष २० लाख डलरको आय हुने अनुमान लगाएका थिए ।

तालिबान जब कुनै इलाकालाई आफ्नो कब्जामा लिन्छ, तब त्यहाँबाट उसले पैसाका साथै धेरै नै सामान, गाडी, हतियार आदि प्राप्त गर्छ । लगातार लडाईंमा जुटिरहने संगठनका लागि आयको यो स्रोत पनि निकै महत्वपूर्ण हुन्छ ।

४.

खानी र खनिज

खनिज र मूल्यवान वस्तुको मामिलामा अफगानिस्तान निकै धनी छ । दशकौंदेखि देशमा लडाईं भइरहेका कारण हाल यसको पर्याप्त दोहन हुन सकेको छैन । अफगानका पूर्व अधिकारीका अनुसार हाल देशको उत्खनन उद्योग एक अर्ब डलर आसपास छ।

देशको धेरैजसो उत्खनन साना स्तरका छन् र अधिकांस अवैध ढङ्गले हुँदै आएका छन्। तालिबानले यसमाथि आफ्नो नियन्त्रण गर्दै वैध र अवैध सबै प्रकारका उत्खननबाट असाध्यै कमाई गरेको छ ।

सन् २०१४ मा यूएनको एक रिपोर्टमा बताइए अनुसार तालिबानले हेलमंद प्रान्तमा २५ देखि ३० अवैध उत्खनन परियोजनाबाट हरेक वर्ष लगभग १ करोड ५० लाख रुपैयाँभन्दा बढी कमाएको थियो ।