समाजवादीका १३ जनाले मन्त्री र उपसभामुखको जिम्मेवारी पाउँदै



काठमाडौँ। एकीकृत समाजवादीका तर्फबाट सरकारमा जाने मन्त्री, उपसभामुखदेखि विभिन्न संसदीय जिम्मेवारीमा जाने सांसदहरू सबैजसो नयाँ अनुहारका हुने भएका छन्।

देउवा सरकारमा सो पार्टीले ६ मन्त्री पाउने निश्चित भएको छ। प्रतिनिधिसभामा रिक्त रहेको उपसभामुख पद पनि सोही दलले पाउने सहमति भएको दाबी स्रोतको छ।

नयाँ दलको प्रमाणपत्र लिएपछि संसदीय दलको नेता, राष्ट्रिय सभा दलको नेता, प्रतिनिधिसभा र राष्ट्रिय सभामा प्रमुख सचेतक, सचेतक गरी ६ जना सांसदले विभिन्न जिम्मेवारी पाउनेछन्। यसरी एकीकृत समाजवादीले सरकारमा ६, संसदीय जिम्मेवारीमा ६ र उपसभामुख एक गरी १३ सांसदलाई नयाँ जिम्मेवारीमा पठाउने भएको छ।

त्यसमध्ये संसदीय दलको नेतामा नेपाल स्वयं नै जाने भएका कारण बाँकी चारको छनोट गरिने भएको छ। यसबाहेक विभिन्न संसदीय समितिका सभापति हेरफेर हुँदा एकीकृत समाजवादीले कम्तीमा तीनवटा संसदीय समितिको सभापति पाउने सम्भावना छ। यो समाचार राजधानी दैनिकमा छ।