मन्त्री शाहीलाई पदबाट बर्खास्त गर्न अनेरास्ववियुको माग



कालिकोट। प्रमुख प्रतिपक्ष दल नेकपा एमाले निकट अनेरास्ववियुले कर्णाली प्रदेशका भूमि कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीलाई बर्खास्त गर्न माग गरेको छ।

मन्त्री शाहीलाई बलात्कारको आरोप लागेको भन्दै नैतिकताको आधारमा राजीनामा दिनुपर्ने एमाले र अनेरास्ववियुको संयक्त माग छ। अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियु कालिकोटले सार्वजनिक ररूपमा बलात्कारको आरोप लागेका मन्त्री शाहीलाई तत्काल बर्खास्त गर्नुपर्ने माग गरेको हो।

यस्तै राष्ट्रिय युवा संघ कालिकोट र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै मन्त्री शाहीले पदबाट राजीनामा नदिएका खण्डमा आन्दोलन गर्ने बताएका छन्।

अनेरास्ववियु कालिकोट मिनराज न्यौपाने र राष्ट्रिय युवा संघ नेपाल कालिकोटका अध्यक्ष ज्ञानेन्द्र बहादुर शाहीले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ, ‘२४ घण्टाभित्र बलात्कार आरोप लागेका मन्त्रीलाई बर्खास्त गरी जनपक्षीय भूमिकामा रहन कर्णालीका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई नेरास्ववियू जोडदार माग गर्दछ। यदि तोकिएको समयमा बर्खास्त नगरेमा चरणबद्ध आन्दोलन सहित सडकमा उत्रिन बाध्य हुनेछौँ।’

यद्यपि, मन्त्री शाहीको सचिवालयले भने यो विषयमा अहिलेसम्म कुनै आधिकारीक धारणा सार्वजनिक गरेको छैन । भदौ ६ गते उक्त घटनाको विषय सार्वजनिक भएको थियो।

यता पीडित भनिएकी महिला र उनका श्रीमानले केही दिन अगाडि संयुक्त रुपमा विज्ञप्ति जारी गरेर उक्त घटना झुटो भएको, चरित्र हत्या गरिएको भन्दै स्पष्टिकरण दिइसक्दा पनि एमालेका नेता कार्यकर्ताले मन्त्री शाहीको चर्को बिरोध गर्दै आएका छन्।