तालिबानविरुद्ध उभिएको एक मात्र प्रान्त पंजशीर



काबुल। अफगानिस्तानको राजधानी काबुलभन्दा लगभग १५० किलोमिटर उत्तर पूर्वमा तालिबानको शासनविरुद्ध बलियो गढ छ।

भिरालो पर्वतले घेरिएको अफगानिस्तानको एउटा उपत्यका जसले पछिल्लो ४० वर्षमा विभिन्न सैन्य बलहरूलाई भित्रिन दिएको छैन। पंजशीर उपत्यकाले सन् १९८० को दशकमा सोभियत सङ्घ र अफगान सरकारी सैन्य बलले गरेका कैयौँ आक्रमणहरूको प्रतिकार गर्दै सोभियत सङ्घले गरेको कब्जाको विरोध गरेको थियो।

उक्त क्षेत्र सन् १९९६ देखि २००१ का बीच तालिबानविरुद्ध पनि उभियो। पछिल्लो दुई दशकमा यो क्षेत्रलाई अफगानिस्तानको सबैभन्दा सुरक्षितमध्ये एक मानिन्थ्यो, बीबीसी अफगानका मरियम अमानले भनिन्।

‘सन् १९८० को दशकमा पंजशीरको रक्षार्थ खटिएकाहरूले ध्वस्त पारिदिएको सोभियत सङ्घको बख्तर बन्दको भग्नावशेष’

तर अहिले भने इस्लामिक समूहले त्यहाँ आफ्नो पकड स्थापित गर्नका लागि फौज परिचालन गर्न लागेको जनाएको छ।”हामी दोस्रो पटक तालिबानको सामना गर्न तयार छौँ,” पंजशीर इकोनोमिक्स डिपार्टमेन्टका प्रमुख अब्दुल रहमानले भने।

उनको भनाइमा तालिबानले अपदस्थ गरेको अशरफ गनी सरकारका प्रथम उपाध्यक्ष रहिसकेका अमरुल्ला सालेहले समर्थन जनाए। उनले राष्ट्रपति गनीको अनुपस्थितिमा आफू “अफगानिस्तानको वैधानिक अन्तरिम राष्ट्रपति” रहेको स्वघोषणा गरेका छन्।