कांग्रेस नेता बिष्टको दु:खमा न पार्टीले सम्झ्यो, न शीर्ष नेताले भेटे



काठमाडौँ। हजारौं शहिदहरूको बलिदानी र लाखौं मानिसहरूको साझा योगदानबाट प्राप्त भएको हो विद्यमान लोकतान्त्रिक शासन व्यवस्था। यहि लोकतान्त्रिक शासन व्यवस्थाको रक्षा, शान्ति, स्थिरता र विकासको अभियानमा जीवन समर्पित गर्नेहरू मध्येका एक हुन् नेपाली कांग्रेसका नेता हिक्मत बहादुर बिष्ट।

कालिकोट जिल्लाको साविकको लालु गाविसमा ‘हाल नरहरिनाथ गापा) २०१५ सालमा जन्मिएका नेता बिष्ट ‘कोभिड-१९’ को संक्रमणका कारण थला परेका छन्। गत बैशाख १२ गते ‘कोभिड-१९’ बाट संक्रमित बनेका बिष्टलाई राजधानीको बलम्बुस्थित एपिएफ अस्पतालमा (३८ दिन राखेर) उपचार गरिएको थियो। नेता बिष्टका भतिज निर्मल बिष्टका अनुसार त्यसपछि उनलाई भक्तपुरमा कोठा लिएर स्वास्थ्य लाभका लागि राखियो। तर, उनले ‘कोभिड-१९’ लाई त पराजित गरे। बिडम्बना त्यसपछि उनलाई निमुनियाले छोयो।

दिन प्रतिदिन ठिक हुँदै जान्छु र सक्रिय राजनीतिक जीवनमा सहभागि हुन्छु भन्ने उच्च शाहास बोकेका बिष्टलाई निमुनियाले थिचेपछि पुनःराजधानीको शिक्षण अपस्ताल महाराजगंजमा (३५ दिन) राखेर उपचार गरियो। यतिका समय र ठूलो आर्थिक खर्चपछि पनि नेता बिष्ट तग्रिन सकेका छैनन्।

नेता बिष्टकी छोरी पुष्पा बिष्टका अनुसार उनको उपचारमा लाखौं खर्च भइसकेको छ। घर परिवारको आर्थिक स्थिति नाजुक छ। आर्थिक रुपमा कमजोर बिष्टलाई गएका निर्वाचनमा पैसा नभएको नेता भन्दै कालिकोट कांग्रेसका केही नेताहरुले हल्का टिप्पणीसमेत गरेको सुन्नमा आएको थियो। पुष्पाका अनुसार हालसम्म आफन्त दाजुभाईको सहयोग तथा ऋण सापटी गरेर नेता बिष्टको उपचार भइरहेको छ। एकातिर उपचारमा महंगो खर्च भइरहेको छ भने अर्को तर्फ आफन्त साथीभाईहरूले गर्ने सहयोग तथा ऋण माग्दा दिनेको संख्या पनि कम हुँदै गइरहेको छ।

नेता बिष्टले दुई वटा सरकारी जागिर छोडेर राजनीतिमा हाम फालेका थिए। अहेव र शिक्षक जागिरबाट हात झिकेर समाज रुपान्तरण र एकात्मक सत्ताको विरुद्ध राजनीतिमा होमिएका बिष्टले राजनीति र कानून विषयमा स्नाकोत्तरसम्मको शिक्षा हासिल गरेका छन्।

नेपाली कांग्रेसभित्र अध्ययनशिल तथा बौद्धिक नेताका रूपमा परिचय बनाएका नेता बिष्टको यो अवस्था आउँदासम्म पनि पार्टीको तर्फबाट कुनै सहयोग, तथा पार्टीका शीर्ष नेताहरुले भेटघाट गर्ने, स्वास्थ्य अवस्था बुझ्ने तथा हौसला दिने काम गरेका छैनन्। कम्युनिष्ट पार्टी छोडेर कांग्रेसकै लागि जीवन बिताएका बिष्टलाई कोभिड भएको बेला त भेट्न सकेनन् नै निमुनियाबाट अस्पतालको श्ययामा ३५ दिन ढल्दा पनि पार्टी शीर्ष नेताहरुले भेटेर बिष्टको स्वास्थ्यलाभको कामना गरेनन्।

कर्णाली सन्देशसँगको संक्षिप्त कुराकानीमा नेता बिष्टले भने, ‘फोनमार्फत केही नेताहरुले कुरा गर्नु भएको थियो। हामी छौं भनेर भन्नू पनि भयो। तर, भेटेर हौसला दिने, उर्जा दिने काम धेरैले गर्नु भएन, केही नेता बाहेक। यसमा मेरो गुनासो पनि छैन।’

कस्तो संयोग ?

२०५९ सालमा नेपाली कांग्रेससलाई फुटाएर नेपाली कांग्रेस (प्रजातान्त्रिक) गठन गरेका पार्टी सभापति शेरबहादुर देउवा हाल प्रधानमन्त्री छन्। तात्कालिन समयमा साविकको कर्णालीमा नेता बिष्ट देउवाको खम्बाका रुपमा उभिएका थिए। हालसम्म पनि बिष्ट देउवाकै कित्तामा छन्।

भतिज निर्मल भन्छन्, ‘आज शेरबहादुर देउवा प्रम हुनुहुन्छ। उहाँले चाहेको खण्डमा आफ्नो कार्यकर्तालाई पर्दा सहयोग गर्न सक्नुहुन्छ। उपचारमा साथरी बन्न सक्नुहुन्छ। हामीले गर्ने अपेक्षा पनि यहि हो। तर, खै आजसम्म पार्टीले कुनै वास्ता गरेन। हामीलाई मात्रै हो कि अरुलाई पनि पार्टी र पार्टीका शीर्षस्थ नेताहरुले गर्ने व्यवहार यस्तै हो? त्यो थाहा भएन।’

२४ सै घण्टा अक्सिजनको साहारामा बाँचिरहेका बिष्टले राजनीतिक यात्रामा अनेकन संघर्ष र चुनौतीहरुको सामाना गर्नुपरेको थियो। तत्कालिन माओवादीको सांघातिक आक्रमणबाट सख्त घाइते बनेका बिष्टलाई ज्युउँदो शहिद्को रूपमा जिल्लामा चिन्ने गरिन्छ। कहिले आक्रमण त कहिले गम्भीर रोगबाट, दुःख अभाव र गरिबीबाट माथि उठेका बिष्टलाई हाल थप उपचारका लागि आर्थिक सहयोग र हौसलाको खाँचो देखिन्छ।

२०६४ सालको संविधानसभाको निर्वाचनमा साविकको कर्णाली अञ्चलमै कांग्रेसका उम्मेदवार मध्ये सबैभन्दा धेरै मत प्राप्त गर्ने उनै बिष्ट हुन्। जुनबेला जनयुद्धको रापतापबाट उदाएको माओवादीसँग चुनाव लड्नका लागि उम्मेद्धारी दिनसम्म डरको विषय थियो। त्योबेला बिष्टले कम्युनिष्टको किल्लाका रुपमा चिनिएको कालिकोट जिल्लामा चुनाव लडेर सम्मानजनक मत पाएर इतिहास रचेका थिए।

अर्को तर्फ उनलाई कालिकोटका सबै राजनीतिक दलका नेता कार्यकर्ताहरूले आदर्श र अभिभावक मान्छन्। नेता बिष्टको बारेमा नवगठित नेकपा (एकीकृत समाजवादीका युवा नेता राजेन्द्र बिष्ट भन्छन्, ‘उहाँ (हिक्मत बिष्ट) ले कालिकोटको राजनीतिक आन्दोलनलाई नयाँ उचाई दिनमा पुर्याउनमा ठूलो योगदान दिनु भएको छ। सुरुमा कम्युनिष्ट नेताका रुपमा उहाँको योगदान रह्यो। पछि कांग्रेसमा लागेर उहाँले जिल्लाको विकास, न्याय सम्पादन र राजनीतिक प्रणाली स्थापनामा उहाँको महत्वपूर्ण भूमिका छ। तर, आज उहाँको अवस्था नाजुक छ। उहाँले यहि राजनीतिमा लागेर आफ्नो जीवनको मात्रै होइन, परिवार, श्रीमती सन्तानहरुको समेत प्रवाह नगरि क्रियाशील हुनु भएको व्यक्ति हो। उहाँको लागि सरकारको नेतृत्व गरिरहेको कांग्रेसले सकेको र मिल्नेजति सहयोग गर्नुपर्छ भन्ने लाग्छ।’

नेता बिष्ट नेता मात्रै होइनन्। उनी राम्रा लेखक तथा राजनीतिक विश्लेषक पनि हुन्। उनले ‘द्वन्द्को दरार र जय पराजय’ नामक दुईवटा ऐतिहासिक पुस्तक लेखेका छन्। न्याय सम्पादन तथा आवाज विहिनहरुको आवाज पनि हुन्। जातीय विभेदको अन्त्यका लागि होस् या उच निज जातीबीचको द्वन्द्व होस् उनले पैरवी गर्दा न्यायसंगत रुपमा गर्दै  आएका छन्।