हरेक नेपालीको टाउकोमा ५७ हजार विदेशी ऋण



काठमाडौँ। प्रत्येक नेपालीको टाउँकोमा मुलुकको सार्वजनिक ऋण ५६ हजार पुगेको छ। सार्वजनिक ऋण बढेर वार्षिक बजेटको आकार भन्दा पनि ठूलो बन्न पुगेको छ।

नेपाल राष्ट्र बैङ्कका अनुसार गत आर्थिक वर्ष २०७७/७८ को अन्तसम्ममा यस्तो सार्वजनिक ऋण बढेर १७ खर्ब २८ अर्ब २५ करोड पुगेको हो। हाल मुलुकको बजेट जम्मा साढे १४ खर्ब बराबरको मात्रै छ।

बैङ्कका अनुसार पछिल्लो तीन वर्षमा मुलुकको सार्वजनिक ऋण झण्डै ६५ प्रतिशतले नै वृद्धि भएको छ। गत आर्थिक वर्ष २०७५÷७६ मा मुलुकको सार्वजनिक ऋण जम्मा १० खर्ब ४७ अर्ब ५८ करोड मात्र रहेकोमा त्यसको ठिक तीन वर्षपछि आर्थिक वर्ष २०७७÷७८ मा ऋण बढेर १७ खर्ब २८ अर्ब २५ करोड पुगेको बैङ्कले जनाएको छ।

९ खर्ब २७ अर्ब ९३ करोड बाह्य अर्थात् वैदेशिक ऋण रहेको र बाँकी ८ खर्ब ३२ करोड आन्तरिक ऋण रहेको बैङ्कले जनाएको छ। कुल १७ खर्ब २८ अर्ब २५ करोडलाई तीन करोड नेपालीको सङ्ख्या मानेर भाग गर्दा एक नेपालीको भागमा ५७ हजार ६०८ रुपैयाँ पर्ने देखिन्छ।