नेपालद्वारा जनता, बौद्धिक वर्ग र छिमेकी देशसँग सहयोगापेक्षा



काठमाडौँ। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले एमालेमा हुँदा विद्रोहका सहयोद्धालाई सम्झिएका छन्।

नाम नलिए पनि एमाले अध्यक्ष केपी ओलीका विरुद्धमा उभिएका युवराज ज्ञवाली, भीम रावल, अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, भीम आचार्य लगायततर्फ इंगित गर्दै नेता नेपालले उनीहरुप्रति कुनै गुनासो नभएको बताए।

तर, हिजोदेखि साथ दिएका कतिपय नेताहरुले अहिले साथ छाडेको भन्दै उनले भने, थाक्नेहरु थाकिरहन्छन्, मेरो केही गुनासो छैन।’

उनले भने, ‘एमालेमा हुँदा हाम्रा सहयोद्धा साथीहरुका बारेमा कुनै गुनासो छैन। क्रान्तिकारी बाटोमा आउनका लागि बाटो खालि छ। हिजोका दिनदेखि आजसम्म कोही छुट्दै, कोही जोडिदै आजका दिनसम्म आएका छौं। क्रान्तिको बाटोमा उभिएर गौरवपूर्ण इतिहास रच्न जो कोहीले प्राप्त गर्न सक्दैन।’

अध्यक्ष नेपालले मिडियो, बौद्धिक जगत, विश्वका शक्तिशाली देश, छिमेकी, राजनीतिक दल, आमजनतालाई विगतमा जस्तै बाँकी दिनमा पनि साथ सहयोग गर्न अपिल गरेका छन्। उनले नेकपा एस असल आचरणका कार्यकर्ता भएको पार्टी हुने दाबी गरे।

उनले एकीकृत समाजवादी एमालेभन्दा भिन्न पार्टी बन्ने बताए। सबै हाम्रा मित्र हुनेछन्। हाम्रा कोही सत्रु हुनेछैनन्। हाम्रो देशको नीतिमाथि छिमेकीहरुले बुझिदिनु पर्नेछ।