जयसिंह प्रतिवेदन सार्वजनिक गर्न संसदीय समितिको निर्देश



काठमाडौं। संसदको राज्य व्यवस्था समितिले दार्चुला तुइन घटनाबामा बेपत्ता भएका जयसिंह धामीको छानविन प्रतिवेदन यथाशीघ्र सार्वजनिक गर्न सरकारलाई निर्देशन दिएको छ।

सिंहदरबारमा बसेको राज्य व्यवस्था समितिको बैठकले दार्चुला घटनाको सत्यतथ्य छिटो सार्वजनिक गर्न र कुटनीतिक पहलद्वारा दोषीलाई कानूनी कारबाहीको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको हो।

गत साउन १५ गते महाकाली नदी पार गर्नका लागि तुइन तर्ने क्रममा खसेर दार्चुलाको व्यास गाउँपालिका–२ का जयसिंह धामी बेपत्ता भएका थिए। उक्त घटनामा भारतीय एसएसबीले तुइन खोलिदिएको बताइएको छ। त्यसपछि उक्त घटनाबारे छानबिन गर्न गृह मन्त्रालयले छानबिन समिति गठन गरेको थियो।

संसदीय समितिले व्यास क्षेत्रको सुरक्षा तथा आवतजावतका लागि सडक, पुल लगायतका पूर्वाधार यथाशीघ्र निर्माण गर्न पनि सुझाव दिएको छ। दार्चुलादेखि तिंकरसम्मको सडक छिटो निर्माण गरी आवतजावत सहज बनाउन र तुइन विस्थापित गरी झोलुंगे पुल निर्माण प्रक्रिया तत्काल शुरु गर्न पनि समितिले निर्देशन दिएको छ।