माधव पक्षकाे सहभागितामा भदौ १३ पछि मन्त्रिपरिषद् विस्तार



काठमाडौँ। सत्तारुढ गठबन्धनभित्र संख्यात्मकरुपमा मन्त्रालयको भागबण्डा मिलेको छ।

तर, मन्त्रिपरिषद् विस्तार भने जसपाका कारण भदौ १३ पछि घकेलिएको छ। सत्तारुढ गठबन्धनमा सम्वद्ध नेपाली काँग्रेस, नेकपा ‘माओवादी केन्द्र’, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) बीच मन्त्रालयको संख्यात्मक भागबण्डा मिलेको छ।

एमालेबाट औपचारिकरुपमा बाहिरिएका माधव नेपालले बुधबार नयाँ दल दर्ता गराएपछि एकीकृत समाजवादीलाई सरकारमा जाने बाटो खुलेको छ। गठबन्धन दलबीच भएको सहमति अनुसार नेकपा एमाले विभाजन भई माधव नेपालको नेतृत्वमा गठित एकीकृत समाजवादीले ५ मन्त्री र एक राज्य मन्त्री पाउने भएको छ।

माधव नेपाललाई स्थान दिँदा काँग्रेसले ३, माओवादीले २ र जसपाले १ मन्त्री गुमाउनु पर्नेछ। किनभने, नेपाल पक्ष सरकारमा सहभागी नभएको अवस्थामा काँग्रेसले प्रधानमन्त्रीसहित ९ मन्त्री र १ राज्य मन्त्री पाउने सहमति भएको थियो। यस्तै माओवादीले सात मन्त्री र एक राज्यमन्त्री तथा जसपाले ६ मन्त्री र एक राज्यमन्त्री पाउने गठबन्धनमा सहमति जुटेको थियो।

२५ सदस्यीय मन्त्रीमण्डलमा नयाँ सहमति अनुसार काँग्रेसबाट प्रधानमन्त्रीसहित ७ जना सरकारमा सहभागी हुने अवस्था छ। यस्तै माओवादी, एकीकृत समाजवादी र जसपाले ५–५ मन्त्री र १–१ राज्यमन्त्री पाउने सहमति भएको स्रोतले रातोपाटीलाई जानकारी दियो। माधव नेपाल समूहले नयाँ पार्टी बनाएर सरकारमा सहभागी हुने भएपछि विगतमा काँग्रेस, माओवादी र जसपाबीच भएको भागबण्डामा हेरफेर भएको छ।

एमालेमा तत्कालीन माधव नेपाल समूहले पार्टी एकता हुँदा सरकारमा सहभागी हुने अवस्था थिएन। माधव नेपाल एमालेमै रहेको अवस्थामा उनलाई राजनीतिक नियुक्तिमा प्रमुख प्राथमिकता दिएर गठबन्धनलाई लगाएको गुन तिर्ने सरकारको तयारी थियो।