कालिकोट: २ अध्यक्ष, २ उपाध्यक्ष र १६ जना वडा अध्यक्ष माधव तिर



कालिकोट। २०७४ सालमा सम्पन्न भएको स्थानीय तहको चुनावमा ९ वटा मध्ये एमाले पार्टीले तीन वटामा जित हासिल गरेको थियो।

एमाले विभाजित बनेपछि कालिकोटका स्थानीय जनप्रतिनिधिहरु पनि विभाजित बनेका छन्। खाँडाचक्र नपा, शुभकालिका गापा र नरहरिनाथ गापामा एमालेले चुनाव जितेको थियो।

जस मध्ये दुई वटा गाउँपालिकाका अध्यक्षहरू माधव नेपालको नेतृत्त्वमा गठित नेकपा एकीकृत समाजवादीतर्फ लागेका छन्। नरहरिनाथ गापाका अध्यक्षा धीरबहादुर बिष्ट र शुभकालिका गापाका अध्यक्ष खडानन्द चौलागाईं माधव नेपाल पक्षामा खुलेका हुन्।

त्यस्तै खाँडाचक्र नपाकी उपमेयर विजया बिष्ट र शुभकालिका गाउँपालिकाकी उपाध्यक्ष पम्फा शाही पनि नेकपा (एस) मा लागेकी छन्। नव गठित नेकपा एसका जिल्ला अध्यक्ष विश्वराज बमले एमालेका २४ जना वडा अध्यक्ष मध्ये १६ जना वडा अध्यक्षहरू आफ्नो साथमा रहेको बताए।

त्यस्तै बमका अनुसार ६८ जना सदस्सीय जिल्ला कमिटी रहेको साविकको एमालेबाट ४५ जनाभन्दा धेरै सदस्य नेकपा एसमा लागेका छन्। निर्वाचन आयोगले यहि भदौ ९ गतेदेखि २१ दिनभित्र प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरुलाई पार्टी रोज्ने समय दिएको छ।