मुख्यमन्त्रीको दाैडमा भीम आचार्य तेस्रो पटक फेल



काठमाडौँ। प्रदेश १ मा एमाले सचिव भीम आचार्य मुख्यमन्त्री बन्ने सम्भावना समाप्त भएको छ। पार्टी विभाजनमा माधवकुमार नेपालको साथ छाडेका कारण मुख्यमन्त्रीमा उनको सम्भावना सकिएको हो।

पार्टी विभाजन हुँदा आचार्यले एमाले नै रोजेपछि प्रस्तावित नेकपा एकीकृत समाजवादी पार्टीका सांसदहरुले उनको साथ छाडेका छन्। पार्टी विभाजन प्रकृयामा रहेका बेला आचार्यले मुख्यमन्त्री बन्न जोडबल गरेका थिए। नेपाल पक्षका नेताहरु पनि उनीप्रति सकारात्मक थिए। तर, आचार्य एमालेमै रहेपछि प्रदेश १ का माधव नेपाल पक्षका सांसदहरुले उनलाई साथ नदिने बताएका छन्।

प्रदेश सांसद एवम् नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य राजेन्द्र राई प्रदेश १ मा नयाँ सरकार बनाउन पर्याप्त सांसद नयाँ पार्टीमा रहने बताउँछन् । आचार्य एमालेमै रहे पनि माधव पक्षका अन्य सांसद समाजवादीमै रहने बताउँदै उनले भने, ‘आचार्यले एमाले नै रोजेपछि अब उहाँ मुख्यमन्त्री बन्ने सम्भावना सकियो ।’

आचार्य तेस्रो पटक पनि फेल

प्रदेश १ मा एमालेका शेरधन राईलाई हटाएर नयाँ मुख्यमन्त्री चयन गर्न कांग्रेस, माओवादी केन्द्र र माधव नेपाल नेतृत्वको प्रस्तावित पार्टी नेकपा एकीकृत समाजवादी प्रयासरत छन् । सम्भावित मुख्यमन्त्रीको रुपमा कांग्रेसका राजीव कोइराला तथा एमालेका भीम आचार्य र राजेन्द्र राईको नाम चर्चामा थियो ।

२०७४ माघ २६ गते भएको संसदीय दलको नेताको निर्वाचनमा ओली समूहबाट शेरधन राई र माधव समूहबाट भीम आचार्य उम्मेदवार बनेका थिए । निर्वाचनमा २६ मत ल्याउँदै राई संसदीय दलको नेता निर्वाचित हुँदा आचार्यले २४ मत ल्याए । मुख्यमन्त्री बन्ने आचार्यको पहिलो प्रयास त्यहीं असफल भयो । निर्वाचनमा एक मत बदर भएको थियो ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गर्दा नेकपाको तत्कालीन प्रचण्ड–माधव समूहले पुस १२ गते मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्दा आचार्यलाई मुख्यमन्त्रीको रुपमा अघि सारेको थियो । तर सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रलाई पुरानै अवस्थामा फर्काइदिएपछि आचार्यको मुख्यमन्त्री बन्ने दोस्रो प्रयास पनि असफल भयो ।

माधवकुमार नेपालले पार्टी विभाजनको निर्णय गर्दा आचार्य एकता पक्षमा उभिए । एकता पक्षमा उभिएका बेला उनलाई ओलीले मुख्यमन्त्री बन्न प्रस्ताव गरे । मुख्यमन्त्री राईले बहुमत जुटाउने भए पद छाड्न तयार रहेको बताएपछि आचार्यले आफ्नो समूहका सांसदलाई सम्पर्क गरे । तर प्रदेश सांसदले साथ नदिने बताए । माधव पक्षका सांसदले साथ नदिने भएपछि मुख्यमन्त्री बन्ने आचार्यको तेस्रो प्रयास पनि असफल भयो ।

‘मुख्यमन्त्री बन्ने प्रस्ताव आएपछि मुख्यमन्त्री बन्दैछु सहयोग गर्नुहोस् भन्दै मलाई फोन गर्नुभयो,’ प्रस्तावित नेकपा एकीकृत समाजवादीका एक प्रदेश सांसदले भने, ‘बहुमत कसरी जुटाउनु हुन्छ? तपाईंका विरुद्ध उभिने आठ जना सांसद म तयार गर्न सक्छु भन्दिएँ ।’

माधव समूहमा रहेका अन्य नेतालाई पनि आचार्यले फोन गरेका थिए । तर साथ नदिने भएपछि उनी पछि हटे । माधव पक्षका सांसद बलबहादुर साम्सुहाँङले आफूलाई पनि सहयोग गर्न भन्दै फोन आउँदा माधव नेपाललाई धोका दिन नसक्ने जवाफ दिएको बताए ।

‘हामीले साथ दिने भनेको भए, बाग्मती प्रदेशको मुख्यमन्त्रीसँगै प्रदेश १ को पनि परिवर्तन हुने थियो,’ माधव समूहका अर्का सांसदले भने, ‘उहाँ अवसरवादी देखिनु भयो, साथ दिन सक्दैनौं भन्यौं ।’

प्रदेश १ को अंकगणित

प्रदेश १ मा हाल ९२ जना सांसद छन् । नेकपा एमालेका ५१, कांग्रेसका २१, माओवादी केन्द्रका १५, जनता समाजवादी पार्टीका ३, राप्रपा र संघीय लोकतान्त्रिक मञ्चका १÷१ जना सांसद छन् । माओवादी केन्द्रले तत्कालीन संसदीय दलका नेता टंक आङ्बुहाङलाई सांसदबाट हटाएपछि प्रदेश सभामा हाल ९२ जना सांसद कायम भएका हुन् ।

नयाँ सरकार गठनका लागि कम्तिमा ४७ मत आवश्यक पर्छ । कांग्रेस, माओवादी र जनता समाजवादीका सांसदहरुको संख्या जोड्दा ३९ हुन्छ । एमालेका ८ जना सांसदले मात्रै नयाँ पार्टी रोजेमा प्रदेश १ मा शेरधन राई नेतृत्वको एमाले सरकार ढल्छ ।

प्रस्तावित एकीकृत समाजवादीका नेता राजेन्द्र राई आफ्नो पार्टीमा अझै पनि १८ जना सांसद रहने दाबी गर्दछन् । उनले भने, ‘भीम आचार्यले साथ छाडे पनि हामी १८ जना नयाँ पार्टीमा हुन्छौं ।’

एकीकृत समाजवादीले राईलाई अघि सार्ने सम्भावना

नयाँ सरकार निर्माण हुँदा प्रदेश १ को मुख्यमन्त्री नेकपा समाजवादीको भागमा पर्ने छ । समाजवादीले केन्द्रीय सदस्य तथा प्रदेश सांसद राजेन्द्र राईलाई मुख्यमन्त्रीको रुपमा अघि सार्ने तयारी गरेको छ । ‘प्याकेजमा सहमति नभए प्रदेश १ को नेतृत्व हामीले पाउने हो,’ राई भन्छन्, ‘भीम आचार्यले एमाले नै रोजेपछि मेरो सम्भावना छ ।’ अब एक महिनाभित्र प्रदेश १ सरकार परिवर्तन हुने उनले बताए ।

प्रदेश १ सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्की प्रदेशमा नेकपा एमालेकै सरकार बन्ने बताउँछन् । आफूहरु बहुमत गुम्न नदिने पक्षमा रहेको बताउँदै उनले एउटा समूहले पार्टी छाडेपछि एमालेकै बहुमत रहने बताए । उनले पार्टी एकता जोगाउनका निम्ती जस्तोसुकै त्याग गर्न तयार रहेको बताए। यो समाचार अनलाइनखबरबाट साभार गरिएको हो।