समाजवादी पार्टी दर्ताका लागि सनाखत गर्ने १४ सांसद



काठमाडौँ। महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीका १४ सांसद र १७ जना केन्द्रीय सदस्यहरु आयोग पुगेर सनाखत गरेर फर्केका छन्।

जसपाबाट फुटेर महन्थ ठाकुर र राजेन्द्र महतोलगायतका नेताहरुले अलग दल लोकतान्त्रिक समाजवादी दर्ता गर्न निवेदन दिएका थिए। उक्त निवेदनपछि दल दर्ताको प्रमाणपत्र दिन आयोगले आज सनाखत गर्न नेताहरुलाई बोलाएको थियो।

यसअघि जसपामा ३४ सांसद थिए। जसमध्ये ठाकुरको पक्षमा १४ सांसद पुगेपछि उनको पार्टीले वैधानिकता पाउने निश्चित भएको हो। सरकारले दल विभाजनसम्बन्धी अध्यादेश खुकुलो पार्दै सांसद वा केन्द्रीय सदस्यमध्ये २० प्रतिशत पुर्याएपछि नयाँ दल दर्ता गर्न सहज बनाएको थियो।

हस्ताक्षेर गर्नेमा महन्थ ठाकुर, राजेन्द्र महतो, शरतसिंह भण्डारी, अनिलकुमार झा, लक्ष्मणलाल कर्ण, चन्दा चौधरी, निर्जला राउत, विमलप्रसाद श्रीवास्तव, उमाशंकर, एकवाल मियाँ, चन्द्रकान्त चौधरी, दुलारीदेवी खँग खत्वे, कल्लुदेवी विश्वकर्मा, शेखरकुमार सिंह रहेका छन्।