एमाले विभाजनमा सभामूखले सघाएको ओलीको आरोप



काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो दल विभाजनका निम्ति सरकार र सभामुखको गतिविधि जिम्मेवार रहेको आरोप लगाएका छन्।

आफ्नो दल फुटाउन षडयन्त्र गरेको भन्दै उनले त्यसका निम्ति शेरबहादुर देउवा नेतृत्वको सरकारले साथ दिएको र दलले गरेको १४ जना सांसदको कारबाहीको सिफारिस सभामुखले कानुन विपरीत रोकिदिएको उनको टिप्पणी थियो।

बुधवार आयोजित एक पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष ओलीले पार्टी विभाजन हुँदा आफू दुःखी भएपनि दलको एकता जोगाउन र सबै पक्षलाई समेट्न अथक पहल गरेको टिप्पणी पनि गरे।

‘प्रतिपक्षी पार्टी फुटाउने कार्य अनैतिक र अनुचित हो। यो लोकतन्त्रको हुर्मत लिने प्रतिगामी काम हो, ओलीले भने। लामो लोकतान्त्रिक इतिहास भएको नेपाली काँग्रेस पार्टी र उसका नेता शेरबहादुर देउवाको पछिल्लो कदमले आफू आश्चर्यचकित भएको ओलीले बताए।