एमालेका धेरै नेता कार्यकर्ता हाम्रो पार्टीमा आउछन्: खतिवडा



काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का नेता जगन्नाथ खतिवडाले पूर्व एमालेका दोस्रो तहका केही नेताहरु एकता भन्दै केपी ओली नेतृत्वको एमाले पार्टीमा गए पनि उनीहरु आफ्नो पार्टीमा फर्कने दावी गरेका छन्।

दल दर्ताका लागि सनाखत गर्न निर्वाचन आयोग पुगेका खतिवडाले सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनीहरु चाँडै फर्केर आउने बताए हुन्। ‘उहाँहरु अहिले भुलभुलैयामा लाग्नुभयो’ दोस्रो पुस्ताका तेस्रो धारमा रहेर पनि ओलीसँगै मिल्न गएका नेताहरूप्रति संकेत गर्दै खतिवडाले आफूहरुसँग उच्च नैतिक बल रहेको बताए। ‘हामीसँग उच्च राजनीतिक नैतिकता छ त्यो अठोटका साथ हामी अघि बढेका हौ। यदि ओलीले पार्टी एकता गर्न चाहन्थे भने हिजै एकता गर्न सक्थे। तर, जव हामी आयोग आइसकेपछि नाटकका श्रृंखलाहरु भए।’

उनले हिजो मात्रै एकताका नाममा एमालेमा गएका कुनैपनि नेताहरु त्याहाँ बस्न नसक्ने दावी पनि गरे। ‘उहाँहरु आफै फर्कनुहुन्छ। केपी ओलीसँग मिल्न सक्नुहुन्न । हिजोसम्म विरोध गर्दागर्दै मिल्नुभएको छ। त्यहाँ केही समय काम गर्नुहुन्छ। अनि हामीलाई नै सहयोग पुर्याउनुहुन्छ।’

ओलीतिर लागेका नेताहरु फर्केर आए कुनै पूर्वाग्रह नराख्ने पनि खतिवडाले बताए। ‘पहिलो ट्रेन छुट्यो दोस्रो ट्रेनमा आउनुस्’ खतिवडाको भनाइ छ। नयाँ दल दर्ताका लागि नेताहरु नागरिकतासहित आयोग पुगेर सनाखत गरिरहेका छन। नेकपा एकीकृत समाजवादीका नेता प्रदीप नेपालसहितका केही नेताहरु भने सनाखत गरेर आयोगबाट बाहिरिसकेका छन्। आयोग परिसरमा सनाखत गर्न तीनवटा स्टल बनाइएको छ।