तालिबानद्वारा सरकार विस्तार



काठमाडौँ। २० वर्षपछि पुनः अफगानिस्तानको सत्ता सम्हालेपछि सरकार गठनको प्रक्रिया अघि बढाएको तालिबानले अर्थमन्त्री र कार्यवाहक गृहमन्त्री नियुक्त गरेको छ।

साथै तालिबानले गुप्तचर प्रमुख, काबुलको गभर्नर र शिक्षा विभाग प्रमुख पनि नियुक्त गरेको छ। अफगानिस्तानको पाजहोक समाचार एजेन्सीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले लेखेअनुसार तालिबानले मंगलबार गुल आगालाई अर्थमन्त्री र सदर इब्राहिमलाई कार्यवाहक गृहमन्त्री बनाएको हो। यसैगरी सखउल्लाहलाई कार्यवाहक शिक्षा प्रमुख र अब्दुल बाकीलाई उच्च शिक्षाको कार्यवाहक प्रमुख बनाइएको छ।

मुल्ला शिरिन काबुलको गभर्नर, हमदुल्ला नोमानी काबुलको मेयर र नजिबुल्लाह गुप्तचरको प्रमुख नियुक्त भएका छन्। तालिबानले यसअघि आफ्नो प्रवक्ता जबिहुल्लाह मुजाहिदलाई संस्कृति तथा सूचनामन्त्री नियुक्त गरेको थियो।

यसअघि गत सोमबार तालिबानले अमेरिकी सबै सैनिक अफगानिस्तानबाट फिर्ता नभएसम्म सरकार नबनाउने जनाएको थियो। तालिबानले अमेरिकी सैनिकलाई ३१ अगष्टपछि अफगानिस्तानमा रहन नदिने पनि जनाएको थियो। यद्यपि अमेरिकी राष्ट्रपति जो बाइडनले अमेरिकी सैनिक अफगानिस्तानमा रहने समयसीमा बढाउन सक्ने मिडिया रिपोर्टहरु पनि सार्वजनिक भइरहेका छन्।

अमेरिका र बेलायतले आफ्ना नागरिकहरुलाई स्वदेश फर्काउन अफगानिस्तानमा सेना खटाएका छन्। काबुल एयरपोर्टमा अमेरिकामा ५ हजार बढी सेना तैनाथ छन्। उनीहरुले विमानस्थल नियन्त्रणमा लिएका छन्। अमेरिकी सैनिकहरुले अमेरिकी नागरिकका साथसाथै मित्र देशका नागरिक र अफगानिस्तानका नागरिकहरुलाई पनि उद्धार गर्दैै आएका छन्।