एमालेको तेस्रो धार एमालेमै विलीन



काठमाडौँ। एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो पटक (२०७७ पुस ५) संसद विघटन गर्दादेखि नै उनको चर्को आलोचना गर्दै आएका एमालेका १० जना नेता अन्ततः एमालेमै रहने भएका छन्। २३ फागुन २०७६ को अदालतको आदेशपछि पुरानै अर्थात २ जेठ २०७५ को अवस्थामा फर्किको एमाले फागुन २८ गतेको एकलौटी निर्णयबाट विवादग्रस्त बनेको थियो।

यसअघि एमाले विभाजन हुँदा अध्यक्ष ओली र वरिष्ठ नेताहरु माधव नेपाल र झलनाथ खनालको पार्टीतिर नलागी केही दिन तटस्थ बसेका दोस्रो पुस्ताका १० जना नेताहरु पनि मंगलबारबाट एमालेमै विलीन हुन पुगेका छन्।

ओलीको स्वेच्छाचारी र प्रतिगामी कदमको विरोधमा चर्को स्वर गर्ने तिनै नेताहरु पुनः माधव नेपालको पार्टीमा नलागी ओलीसँगै मिसिन पुगेका हुन्। त्यतिमात्रै होइन, जेठ २ मा फर्किएको भनिएको नेकपा एमालेको पहिलो बैठकमै माओवादीवादीबाट एमाले प्रवेश गरेका नेताहरु सहभागी बनेका छन्।

जेठ २ को एमाले पार्टी कमिटी क्रियाशील गर्न नै उनीहरुको उपस्थिति हुनुले र १० बुँदे प्रस्ताव कार्यान्वयन गर्न गठित कार्यदलमा समेत रहनुले जेठ २ मा फर्कने अध्यक्ष ओलीको प्रतिवद्धता कति दिन टिक्ने हो भन्ने प्रश्न पनि उठेको छ।