नेकपा (एमाले) को १० महाधिवेशन मंसिरमा



काठमाडौँ। नेकपा एमालेले आगामी मंसिर १० देखि पार्टीको १०औं महाधिवेशन गर्ने निर्णय गरेको छ।

मंगलबार तुल्सीलाल अमात्य स्मृति प्रतिष्ठान च्यासलमा बसेको पार्टी स्थायी कमिटी बैठकले मंसिर १० देखि १२ गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेको प्रवक्ता प्रदीप कुमार ज्ञवालीले जानकारी दिए।

यस्तै एमालेले विधान अधिवेशन असोज ४, ५ र ६ गते गर्नेछ। बैठकमा माधव नेपाल पक्ष भनेर चिनिएपछि नेपालले पार्टी फुटाउँदा त्यतातिर नलागेका स्थायी कमिटी सदस्यहरुको पनि सहभागिता रहेको थियो।

बैठकले पार्टी विवाद मिलाउन गठन भएको कार्यदलमा भएको १० बुँदे सहमति कार्यान्वयन गर्ने निर्णय पनि गरेको छ। जसअनुसार पार्टी संरचना २०७५ साल २ जेठ गते अगाडिको अवस्थामा क्रियाशील हुने ज्ञवालीको भनाइ छ।

त्यस्तै स्थायी कमिटी बैठकले दशबुँदे सहमति कार्यान्वयन गर्ने निर्णय गरेको छ। पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल छोडेका दश स्थायी कमिटी नेताहरु सहित बसेको बैठकले दशबुँदे सहमति कार्यान्वयन गर्ने निर्णय गरेको हो।

निर्णयअनुसार एमाले पार्टी संरचना २ जेठ २०७५ अगाडिको अवस्थामा क्रियाशील हुने सचिव प्रदीपकुमार ज्ञवालीले जानकारी दिए। १० प्रतिशत केन्द्रीय सदस्य मनोनयन, विभागहरुको पूर्णता दिने लगायत प्रयोजनका निम्ति सात सदस्यीय कार्यदल बनाइएको छ। कार्यदलमा उपाध्यक्ष भीम रावल, महासचिव ईश्वर पोखरेल, उपमहासचिवहरु विष्णुप्रसाद पौडेल र घनश्याम भुसाल, स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे र लेखराज भट्ट रहेका छन्।

१०–१२ मंसिरमा दशौं महाधिवेशन र ४–६ असोजमा विधान महाधिवेशन गर्ने निर्णय भएको छ। बैठकले एमालेको पार्टी सदस्यता २ जेठ २०७५ अगाडिको आधारबाट अगाडि बढाइने भएको छ। सदस्यता नवीकरण असोज मसान्तभित्र गरिने निर्णय भएको ज्ञवालीले बताए। बैठकले भदौ १६ देखि २० गतेसम्म जिल्ला र जनसंगठनहरुको भेला गर्ने पनि एमालेले निर्णय गरेको छ। त्यसअघि १० भदौमा केन्द्रीय कमिटी बैठक बस्ने भएको छ।