एकीकृत समाजवादीमा ४० वर्ष मुनिका युवा प्राथमिकतामा (विधानसहित)



काठमाडौँ। माधव नेपाल नेतृत्वको प्रस्तावित नेकपा (एकीकृत समाजवादी) पार्टीले आफ्ना सबै पार्टी कमिटीमा ४० वर्षमुनिका युवाहरूलाई महत्त्वका साथ समेट्ने निर्णय गरेको छ।

पार्टीको विधानमा ४० वर्ष मुनिका युवाहरूलाई ‘महत्त्वपूर्ण हिस्सा’ भन्दै उनीहरूलाई समेट्ने व्यवस्था गरेको छ। ‘हरेक पार्टी कमिटीको एउटा महत्त्वपूर्ण हिस्सामा ४० वर्ष मुनिका युवालाई राखिने छ। यस पार्टीका सदस्यहरूले सामाजिक–आर्थिक तथा सांस्कृतिक रूपान्तरणका लागि उत्पादन सङ्घर्ष र वर्ग सङ्घर्षमा सामेल हुँदै विचार, सङ्गठन र सङ्घर्षका क्षेत्रमा अग्रणी भूमिका खेल्ने छन्’, नेकपा ‘एकीकृत समाजवादी’ ले आफ्नो विधानमा भनेको छ, ‘उनीहरू जनसरोकारका र उत्पादनशील कार्यमा क्रियाशील हुँदै पार्टीको एकता र अग्रगतिका लागि समर्पित रहने छन्।’

साथै सो पार्टीको विधानअनुसार १७ जना केन्द्रीय पदाधिकारी रहने भएका छन् भने १ सय ५१ केन्द्रीय कमिटी रहने भएको छ। पार्टीको विधानमा केन्द्रीय कमिटी अध्यक्ष १, वरिष्ठ नेता १, उपाध्यक्ष ७, महासचिव १, उपमहासचिव २, सचिव ७ गरी जम्मा १७ जना पदाधिकारीसहित ११५ पूर्ण र ३६ वैकल्पिक गरी जम्मा १५१ सदस्यीय हुने व्यवस्था गरिएको छ।

केन्द्रीय कमिटी दुई महाधिवेशनबीच पार्टीको सर्वोच्च कार्यकारी संस्था हुने विधानमा उल्लेख छ। केन्द्रीय कमिटीको कूल सदस्य सङ्ख्याको कम्तिमा एक तिहाइ अर्थात् ३३ प्रतिशत सदस्य महिला अनिवार्य हुनेछन्।

केन्द्रीय कमिटीभित्र केन्द्रीय पदाधिकारी र स्थायी कमिटी सदस्यसहित ५१ सदस्यीय पोलिटब्यूरो र पदाधिकारीसहित २१ सदस्यीय स्थायी कमिटी रहने व्यवस्था गरिएको विधान सो पार्टीले पारित गरेको छ। राष्ट्रिय महाधिवेशन, राष्ट्रिय परिषद्, केन्द्रीय कमिटी, केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा परीक्षण आयोग, केन्द्रीय निर्वाचन आयोग र केन्द्रीय सल्लाहकार परिषद् र केन्द्रीय ज्येष्ठ कम्युनिस्ट मञ्चको व्यवस्था गरेको छ।