अष्ठलक्ष्मी मेरै सहमतिमा मुख्यमन्त्री बन्नु भएको हो: अध्यक्ष नेपाल



काठमाडौँ। प्रस्तावित नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नै सहमतिमा एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य बाग्मती प्रदेशको मुख्यमन्त्री बन्न सफल बनेको बताएका छन्।

चार वर्षअघि मुख्यमन्त्री बन्नबाट एमाले अध्यक्ष केपी ओलीले रोकेका थिए। तर, चार वर्षपछि आएर नेपालकै सहयोगमा शाक्य मुख्यमन्त्री बन्न सफल भएकी छन्। उनी मुख्यमन्त्री मात्रै बनिनन् कि उनले पहिले महिला मुख्यमन्त्रीको रेकर्डसमेत राखिन। पहिलो मुख्यमन्त्री बन्नबाट ओलीले रोकेपनि अन्ततः शाक्यले नेपाललाई साथ नदिएर ओलीकै पथमा सहमाहित बनेकी छन्।

उनको मुख्यमन्त्री पद धरापमा त छ तर, अब के हुन्छ भन्ने शाक्यमा भर पर्ने अध्यक्ष नेपालको भनाई छ। नेता नेपालले नयाँ पार्टी दर्ता गर्दै गर्दा डोरमणि पौडेलले राजीनामा दिएर शाक्य नयाँ मुख्यमन्त्री बनेकी हुन्।

प्रस्तावित नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालले भने मुख्यमन्त्री शाक्यले अब एउटा दल रोज्नुपर्ने बताएका छन्। मंगलबार चन्द्रगिरिमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता नेपालले भने, ‘उहाँ (अष्टलक्ष्मी) ले सहमति लिनु भएकै हो। तर, उहाँ अप्ठ्यारोमा हुनुहुन्छ।’

राजनीतिक दलसम्बन्धी अध्यादेशअनुसार प्रदेश र स्थानीय तहका जनप्रतिनिधिले २१ दिनभित्र दल रोज्नुपर्ने भन्दै उनले भने, ‘जब पार्टी अलग बनिसकेपछि एउटा पार्टी रोज्नुपर्ने अवस्था बन्छ। अब उहाँमा भरपर्छ, म धेरै भन्न चाहन्न।’ दल रोजाइबारे शाक्यको निर्णयका आधारमा प्रदेश सरकारलाई कसरी हेर्ने भनेर तय गर्ने उनले बताए।