विनासको राजनीतिले विकास असम्भव: मुख्यमन्त्री शाही



सुर्खेत। कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विनासको राजनीतिले विकास हुन नसक्ने ठोकुवा गरेका छन्।

साथै उनले विनासको राजनीति त्याग्नुपर्नेमा जोड दिएका छन्। राजनीतिक दलहरूले साझा एजेण्डा बनाएर विकास र समृद्धिका क्षेत्रमा योगदान दिनुपर्ने मुख्यमन्त्री शाहीको भनाई छ।

सोमबार गृह जिल्ला कालिकोटको तेस्रो जिल्ला सभाको उद्घाटन गर्दै मुख्यमन्त्री शाहीले भने, ‘कर्णालीको गरिबी र पछौटेपन सबैको साझा चुनौती हो। हाम्रा सामु यतिबेला ठूला चुनौतीका पहाडहरू ठडिएका छन्। अब, विनासको राजनीति गर्न छाडौँ, जिल्लास्थित सम्पूर्ण दलहरूको जिल्लाको विकासलाई साझा एजेन्डा बनाएर अघि बढ्नुपर्छ।’

उनले अडाडि भने, ‘हाम्रो राजनीति संस्कार जस्तो छ, परिणाम पनि त्यस्तै आउँछ। अब कालिकोट मात्र नभई समग्र कर्णाली पछि पर्नुको कारण केहो खोजेर आत्मसमीक्षा गर्ने बेला आएको छ। विकासका लागि साझा प्रतिबद्धता र साहस चाहिन्छ।’

मुख्यमन्त्री शाहीले स्थानीय तहका जनप्रतिनिधिहरूलाई पार्टीभन्दा माथि उठेर काम गर्न सुझाव दिएका छन्। उनले भने, ‘प्रदेश सरकारले जिल्लाको विकासका लागि ठुलो मात्रामा बजेट पठाए पनि समयमै काम सम्पन्न गर्न नसक्दा बजेट फिर्ता गएको छ। चालु आर्थिक वर्षमा बजेट सत प्रतिशत कार्यन्वयन गर्नतिर ध्यान दिनुस्।’

शाहीले जिल्लामा हुने अनियमितता रोक्नसमेत सरोकारवालाहरूलाई निर्देशन दिएका छन्। स्थानिय तहहरूबीच कार्यसम्पादनमा रचनात्मक प्रतिस्पर्धा हुनु जरुरी रहेको बताउदै त्यसतर्फ ध्यान दिन आग्रह गरेका छन्।