माधव नेपाललाई दैलेखका ६ जना जनप्रतिनिधिको साथ



सुर्खेत। प्रस्तावित नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई दैलेखका ६ जना जनप्रतिनिधिले साथ दिने भएका छन्।

११ वटा स्थानीय तह रहेको दैलेखमा दुई जना उपप्रमुख, दुई अध्यक्षसहित ६ जनाले नेपालको साथ रोजेका हुन्। निर्वाचन आयोगले स्थानीय जनप्रतिनिधिहरुलाई आफ्नो कित्ता क्लियर गर्न आग्रह गरेको थियो।

त्यसै अनुरुप दैलेखबाट समाजवादीमा खुल्ने मध्येमा चामुण्डा विन्द्रासैनी नगरपालिकाका उपप्रमुख ताराकुमारी शाही खत्री, नारायण नगरपालिकाकी उपप्रमुख सावित्री मल्ल, भगवतीमाई गाउँपालिकाका अध्यक्ष दानबहादुर थापा, महावु गाउँपालिकाका अध्यक्ष जंगबहादुर शाहीले नेपाललाइ राेजेका हुन्।

यस्तै महावु गाउँपालिकाका उपाध्यक्ष प्रेमकुमारी बुढा पनि समाजवादीमा खुलेकी छन् भने ठाटीकाँध गाउँपालिकाका उपाध्यक्ष सुस्मिता सिंह पनि समाजवादी पार्टीमा खुलेकी छन्।

यसअघि माधव नेपाल समूहमै रहेका चामुण्डाविन्द्रासैनी नगरपालिकाका प्रमुख सुर्यबहादुर शाहीले अहिले प्रष्ट धारणा बनाइसकेका छैनन्। माधव समूहकै नेतामा रुमा चिनिएका ठाटीकाँध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाही भने अहिले खुलेर ओली पक्षमा होमिएका छन्।