रमेशकुमार बम
बौनिया (कैलाली)। कैलालीको बर्दगोरिया गाउँपालिकामा ग्रामीण विद्युत सहकारीले आर्थिक अनियमितता गरेको भन्दै उपभोक्ताहरुले छानबिनको माग गरेका छ्न्।
पालिकाको वडा नम्बर २ मा सञ्चालित कुम्भिया ग्रामीण विद्युत सहकारी संस्थामा लाखौंको अनियमितता भएको दाविसहित उपभोक्ताहरुले छानबिनको माग गरेका हुन्।
सहकारी संस्थाका अध्यक्ष जन्जिर चौधरी, कोषाध्यक्ष र सचिवको मिलेमतोमा संस्थाको कामकारबाही पार्दशी नभएको, आफुखुशी कामकाज गर्ने गरेको र आर्थिक चलखेलमा लाखौं रुपैयाँ अनियमितता गरेको उपभोक्ताको दावी छ। उपभोक्ताका अनुसार संस्थाका अध्यक्ष रहेका थारु विगत ७ वर्षदेखि अध्यक्षमा बसेका छन्। उनको कार्यकाल ०७३ मै सकिएको हो तर अहिलेसम्म साधारणसभा नै नगरी बलपूर्वक तवरले अध्यक्षकै पद ओगटेको बुझिएको छ। कानुनअनुसार अवैधानिक रुपमा अध्यक्ष चौधरीले कामकाज र निर्णय गदै आएको पाइएको छ।
संस्थाका अध्यक्ष, कोषाध्यक्ष र सचिवको दवदवामा ०६३ सालदेखि यता साधारणसभा समेत गरिएको छैन भने उपभोक्ताहरुबाट मनोमानी रूपमा पैसा असुल गर्ने गरिएको छ। कर्णाली सन्देशलाई प्राप्त स्रोत र प्रमाणअनुसार उपभोक्तामाथि संस्थाले लुट मच्चाउदै आएको छ भने विद्युत महसुल र जरिवाना समेत फरकफरक तरिकाले उठाइएको पाइएको छ। संस्थाले समयमै महशुल नबुझाउनेका लागि कसैलाई ५ कसैलाई २५ प्रतिशले जरिवाना तिराउँदै आएको छ भने कसैलाई जरीवाना नै नगरेको पाइएको छ।
यतिमात्र नभई संस्थाले नियम तोडेर उपभोक्तालाई अवैध मिटर जडान गरि महशुल उठाउँदै आएको प्रमाण समेत कर्णाली सन्देशले प्राप्त गरेको छ। कुम्भिया ग्रामीण विद्युत सहकारी संस्था ०६३ सालमा दर्ता भएको संस्थाको हो। उपभोक्तालाई विद्युतको मिटर जडानका लागि भन्दै रु. ३५ सयका दरले पैसा असुल गरेको भएतापनि ०७४ सालमा पैसा तिरेका उपभोक्ताले अहिलेसम्म मिटर पाएका छैनन्।
हालसम्म उक्त संस्थामा ४ सय ४७ जना उपभोक्ता छ्न्, तीमध्ये ३ सय जनाको घरमा मात्रै दर्ता भएका मिटर जडान गरिएको छ भने १ सय ४१ जनाले अवैधानिक मिटर जडान गरेका छन्। तर विद्युत मिटर जडानको लागि अवैधानिक मिटर जोड्न लगाएको उक्त विद्युत सहकारी संस्थाले पुनः अवैध जडान गरिएका मिटरलाई वैधानिक बनाउन फेरि २ हजार रुपैयाँ माग गरेको स्थानीय बताउछन्। यतिमात्र नभई संस्थाले गणपुरक संख्या नै नपुर्याई कामकाज गर्दै आएको र सोही तरिकाले कर्मचारी नियुक्त गरेको छ भने योग्यता नै नभएका व्यक्तिलाई कार्यालयको जिम्मेवारी दिई कार्य सञ्चालन गर्दै आएको उपभोक्ताले बताएका छ्न्।
यसअघि एकजना मात्रै महसूल उठाउने कर्मचारी राखेको संस्थाले हाल तीनजना कर्मचारीलाई मिटर रिडिङको लागि नियुक्त गरेको छ, उपभोक्ता भन्छन् संस्थाको विधान एकातिर छ काम कारवाही फरक तरिकाले संचालन हुँदै आएको छ। यसरी गणपुरक नपुगी महत्वपूर्ण निर्णय गरिनु, उपभोक्तालाई वार्षिक कार्यक्रम र आर्थिक पाटोबाटो सार्बजनिक सुनुवाइ नगरिनु र पारदर्शी रूपमा ४ वर्षसम्म सार्वजनिक सुनुवाई तथा आयव्यय सार्वजनिक नहुनु दु:खद र अनियमितता तथा भ्रष्टाचारको अखडा भएको उपभोक्ताको भनाई छ।
यता कुम्भिया ग्रामिण विद्युत सहकारी संस्थाका अध्यक्ष थारु आफू स्वयं ०७३ सालदेखि अवैध भएको स्वीकार गर्छन् भने केही जनाको दवाव र रवाफले आफुले अध्यक्षबाट बाहिर जान नसकेको, सार्बजनिक सुनुवाइ र साधारणसभा गर्न नसकेको बताउछन्। तर आर्थिक कारोबार भने सही र पार्दशी भएको दावी गर्छन्। यद्यपि समयमै महशुल तिर्न नसक्दा उनकै कार्यकालमा दुई पटकसम्म सिङ्गो गाउँ हप्तादिन सम्म अँध्यारो हुनेगरि लाइन काटिनु र संस्थाले निर्णय विपरीत महशुल उठाउने, जरीवाना तिराउने कामले उनको कार्यशैली कुन हदसम्मको हो भन्ने स्पष्ट देखिन्छ।
अर्कोतिर ७ बर्षसम्म लाइन चोरी गरि बत्ती बालेका अध्यक्ष थारुले संस्थाले विद्युत चोरी गरेको भन्दै कारबाहीको निर्णय गरेपनि हालसम्म नतिरेको उपभोक्ता बताउछन्। अध्यक्ष चौधरीले ७ वर्षसम्म विद्युत चोरीगरी बत्ति बालेको स्वीकार गर्दै झण्डै ३१ हजार रुपैयाँ जरिवाना तिर्ने बताएका थिए। तर अहिलेसम्म नतिरेको स्थानीय बताउँछन्।
यता सोही वडाका वडाध्यक्ष भेखु चौधरी भने संस्थाको कामकारवाही मौखिक रूपमा सुनेको र कामकाज सुधारको लागि जवाफ दिएको बताउछन्। तर वडाको जिम्मेवारी आफुले सम्हालेदेखि कुम्भिया ग्रामीण विद्युत सहकारी संस्थाको कुनैपनि छलफल, कार्यक्रममा आफुलाई जानकारी नआएको बताउँछन्। हामीसँगको टेलीफोन कुराकानीमा उनले यसबारे बुझ्ने र समस्या समाधानको विकल्प खोज्ने बताए।
तर उपभोक्ता भने संस्थामा भइरहेको कामकारबाही तथा अनियमितताको तत्काल छानबिन गरिनुपर्ने, सम्पुर्ण हिसाबकिताब सार्वजनिक गर्नुपर्ने बताउछन्। विद्युत सहकारीको मनोमानी बारे अहिले उपभोक्ता आन्दोलित बनेका छन्। संस्थामा आवद्द अधिकांश उपभोक्ता छानबिनसहितको मागसहित आन्दोलित बनेका छन्। जसमा स्थानीय जनप्रतिनिधि र थारु अगुवा भलमन्सासमेत छन्। जसको प्रमाण समेत हामीसँग सुरक्षित छ।