भीम आचार्यले माधव नेपालको साथ पाएनन्



काठमाडौँ। प्रदेश १ को मुख्यमन्त्रीका लागि आफूलाई सहयोग गर्न एमाले सचिव भीम आचार्यले माधवकुमार नेपाललाई भेटेका छन्।

तर, सचिव आचार्यको आग्रहलाई प्रस्तावित नेकपा (एकीकृत समाजवादी) का अध्यक्षसमेत रहेका नेपालले अस्वीकार गरेका छन्। पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रस्तावमा प्रदेश १ को मुख्यमन्त्री बन्न हच्किएका आचार्य उक्त पद प्राप्तिका लागि नेपालको सहयोगका लागि शनिबार बिहान नेपालको कोटेश्वरस्थित निवास नै पुगेका थिए।

पार्टी विभाजन प्रक्रिया सुरू भएपछि नेपालको साथ छाडेका मात्रै नभएर नेपालको आलोचनासमेत गर्दै आएका आचार्यले मख्यमन्त्रीका लागि सहयोग गर्न आग्रह गर्न पुगेका हुन्। नेपालले त्यसका लागि कुनै संकेत दिएनन्।

प्रदेश १ मा माधव नेपाल पक्षले मुख्यमन्त्री पाउने सम्भावना बढेको छ। त्यसैले नेता आचार्यले नेपालको सहयोग खोजेका हुन्। नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टीसहितको गठबन्धनको सहयोग भएपछि एमालेका आठ जनामात्रै सांसद भए पनि नयाँ सरकार बनाउन प्रदेशमा संख्या पुग्छ। नेपाल पक्षले आफूसँग १५ जना सांसद रहेको र यो संख्या बढेर १८ पुग्ने दाबी गर्दै आएको छ। प्रदेशको विपक्षी गठबन्धनले भने नेपाल पक्षका नेता राजेन्द्र राईलाई मुख्यमन्त्रीका रूपमा अघि सार्ने तयारी गरिरहेको छ।

नेपाल पक्षको समर्थनबेगर सरकार बनाउन असम्भव हुने भएपछि नेपालको सहयोग आचार्यका लागि अपरिहार्य बनेको छ। त्यसैले आफ्नो टिममा र ओली पक्षसँगको सल्लाहमै नेपाललाई भेट्न आचार्य कोटेश्वरस्थित उनकै निवास पुगेका थिए। एक्लाएक्लै भएको उक्त छलफलको विषयबारे आफूलाई थाहा नभएको गौतमले बताए।

नेता आचार्य निकटस्थहरूका भनाइमा यसपटक नेपाल निवासमा भीम आचार्यले जस्तो व्यवहार भोग्नुपर्‍यो, लामो संगतमा नेपालले उनलाई कहिल्यै त्यसरी अपमानित गरेका थिएनन्।

यसअघि दुई पटकसम्म प्रदेश १ को मुख्यमन्त्री बन्ने प्रयासमा असफलता भोगेका आचार्यका लागि माधव नेपालले पार्टी विभाजन प्रक्रिया सुरू गरेलगत्तै पार्टी अध्यक्ष ओलीले नै मुख्यमन्त्री बन्न प्रस्ताव गरेका थिए। शेरधन राईलाई राजीनामा दिन लगाएर आचार्यलाई मुख्यमन्त्री बनाउने तयारी प्रदेश १ मा थियो।

माधव नेपालनिकट सांसदहरूले सहयोग गर्ने संकेत नगरेपछि आचार्य तत्कालै मुख्यमन्त्री बन्न हच्किएका थिए। तत्कालीन प्रधानमन्त्री ओलीले प्रदेशको मुख्यमन्त्री बनाउने आश्वासन दिएपछि नेता आचार्य नेपाल र ओलीको एकताका लागि प्रयासरत थिए। बागमती प्रदेशमा अष्टलक्ष्मी शाक्यलाई झैं गएको बिहीबार नै आचार्यको पनि विराटनगरमा सपथ गराउने तयारी एमाले ओली पक्षको थियो।

प्रदेश संसदमा रहेका नेता नेपाल पक्षधर सांसदहरूलाई पार्टीमै टिकाउन ओली पक्षले तयारी गरेको थियो। माधव नेपाल पक्षधर सांसदहरूबाट पहिलेदेखि नै एक्लिएका उनले सपथ लिने बाटो रोजेनन्।

‘हामी पार्टी एकताको पक्षमा छौं, १० बुँदे कार्यान्वयन नभएसम्म त्यस्तो प्रस्ताव आए पनि अर्थ छैन,’ मूल पार्टीबाटै प्रस्ताव आएकोबारे प्रश्न गर्दा आचार्यले भनेका थिए, ‘मुख्य कुरा १० बुँदे सहमति कार्यान्वयनको हो।’

उनले सार्वजनिक रूपमा यसो भने पनि काठमाडौं बसेर खासमा उनी मुख्यमन्त्री बन्न नेता नेपालको सहयोग खोजिरहेका थिए। नेपाल समूहको समर्थनबेगर मुख्यमन्त्री बने पनि टिक्न नसकिने तथ्य बुझेका उनी ओलीको प्रस्ताव स्वीकार गर्न यसपटक हच्किएका थिए। प्रदेशमा आचार्यलाई संसदीय दलमा हराएर मुख्यमन्त्री बनेका शेरधन राई आचार्यको स्वीकृति कुरेर राजीनामा दिने तयारीमा थिए। तर, नेपाल समूहको असहयोग हुने बुझेपछि उनी हच्केर नेता नेपालको सहयोग माग्दै उनकै निवास पुगेका थिए।

स्रोतका अनुसार नेता नेपालले सुरूमै भेट्न आउनुको कारण आचार्यलाई सोधेका थिए। आचार्यले केही भूमिका बाँधेर ‘मेरो नेता हिजो पनि तपाईं हो, आज पनि तपाईं हो’ भनेपछि नेपाल बिच्केका थिए। ‘आज सम्मको नभन्नुस्, आजदेखि उताको हो भन्ने हो भने व्यवहार हेरेर विचार गरौंला’, नेता नेपालले उनलाई भने ‘यसबीचमा तपाईंले कहाँ(कहाँ मेराविरूद्ध के(कति गतिविधि गर्नुभयो, म सबै जानकार छु।’

एमालेका विवाद उत्कर्षमा पुगेका बेला नेपालनिकट मानिने नेता आचार्य भने आश्चर्यजनक रूपमा फेरिएको प्रदेश १ का सांसद बताउँथे। उहाँ हाम्रो समूहको प्रदेशको सर्वोच्च नेता, उहाँकै लागि भनेर हामी निरन्तर लड्ने गर्दै आयौं’, नेपाल पक्षधर एक सांसदले भनेका थिए, ‘उहाँ भने निरन्तर विभिन्न बैठकमा नेता नेपालकै आलोचना गर्दै हिँड्ने गर्न थाल्नुभएको थियो। माधव कमरेडलाई यसबारे हामीले पहिल्यै जानकारी दिएका थियौं।’

नेपालले दल विभाजन प्रक्रिया सुरू गरेपछि पनि आचार्य नेपालप्रति आक्रामक रूपमा पेश हुँदै आएका थिए। माधव नेपालसँग १० प्रतिशत मान्छे पनि नजाने घोषणा उहाँले गर्नुभएको थियो,’ ती सांसदले भने, ‘यसो भनिरहेको मान्छे सहयोग माग्न आएपछि सहयोग गर्ने कुरा कसरी हुन्छ र?’

उक्त भेटमा नेता आचार्यले अब फेरि मलाई विश्वास गर्नुहुन्छ कि गर्नुहुन्न भनेर सोधेको र जवाफमा नेपालले ‘आगामी दिनको व्यवहार हेरेर भन्न सकिने’ जवाफ दिएको ती सांसदले सुनाए।