मन्त्रीसँग नाम जोडिएकी महिलाद्वारा आत्महत्याको चेतावनी



सुर्खेत। कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री कुर्मराज शाहीसँग आफ्नो नाम जोडेर चरित्र हत्या गरिएको भन्दै एक महिलाले आत्महत्या गर्ने चेतावनी दिएकी छन्।

मिमसरा महतारा नामकी एकजना महिलाले मन्त्री शाहीतर्फ इंगित गर्दै आइतबार राती सामाजिक सञ्जाल फेशबुकमार्फत आफ्नो चरित्र हत्या गर्न खोज्ने मिडियाको नाममा पत्र लेखेर आत्महत्या गरिदिने चेतावनी दिएकी हुन्।

उनले लेखेकी छन्, ‘मलाई जुन विषयमा मन्त्री र मेरो नाम जोडेर बलात्कार गरेको झुट आरोप लगाइएको छ यो सरासरी गलत हो र मेरो व्यक्तिगत जीवनमा कसैले चरीत्र हत्या गर्छ भने म उसैको नामबाट चिठी लेखेर मर्छु र सोही मिडिया जबाफदेही हुनेछ।’

केही मिडियाहरुले पीडित महिला र उनका पति जिल्ला प्रहरी कार्यालय, सुर्खेतमा बलात्कारसम्बन्धी जाहेरी दिन पुगेको भनेर समाचार प्रकाशित गरेपछि उक्त विषय चर्चामा आएको हो।

महिलाका पतिले पैसामा बागर्नेङ गरेको आशंका व्यक्तगर्दै प्रकाशित समचारहरुमा प्रहरी प्रशासनले बलात्कारको मुद्धा दर्ता गर्ने हदम्याद पार भइसकेको जनाएको दाबी गरिएको छ।

यता मन्त्री शाहीले पनि आफ्नो चरित्र हत्या गर्न खोजिएको र महिलाका पतिसँग विगत दुई वर्षदेखि नै कुनै बोलचाल नभएको बताएका छन्। महिलाका पतिसँग यसका बारेमा बुझ्न खोज्दा सम्पर्क भएन।

प्रहरीको सम्पर्कमा पुगेका पीडितले उक्त भिडियो २०७६ माघतिरको भएको बताएका छन्। जति बेला शाही प्रदेश सांसदमात्रै थिए। प्रहरीसम्म यो घटना ढिलो गरी पुग्नुमा पीडितले तत्कालीन सांसद एवं हालका मन्त्री शाहीसँग ‘रकमको बार्गेनिङ’ गरेको प्रारम्भिक अनुमान गरिएको छ।