६ गोलको थ्रिलरमा रोकियो रियल



काठमाडौँ। रियल म्याड्रिड १० खेलाडीमा सिमित लेभान्तेसँग बराबरी खेल्न बाध्य भएको छ। आइतबार भएको ला लिगाको खेल ३–३ को बराबरीमा सकिएको हो।

करिम बेन्जेमाको पासमा गेराथ बेलले खेलको पाँचौ मिनेटमा नै रियललाई अग्रता दिलाएका थिए। सन् २०१९ पछि ला लिगामा उनको यो पहिलो गोल थियो। तर, दोस्रो हाफको शुरुवातमा नै रोजर मार्टीले लेभान्तेका लागि गोल फर्काए।

त्यसपछि जोसे काम्पानाले लेभान्तेलाई अग्रता दिलाए पनि भिनिसियस जुनियरले रियललाई पुनः खेलमा फर्काए। रोबर पियरले फेरि लेभान्तेलाई एक गोलको अग्रता दिलाए तर भिनिसियसले पुनः खेल बराबरी गरे।

खेलको अन्त्यतिर गोलकिपर एइटर फर्नान्डेजले रातोकार्ड पाएपछि लेभान्ते १० खेलाडीमा सिमित भएको थियो। उता, डिफेन्डिङ च्याम्पियन एथ्लेटिको म्याड्रिडले इल्चेलाई हराउँदै लगातार दोस्रो जीतसहित लिगको शीर्ष स्थानमा उक्लिएको छ।