कम्युनिष्ट केन्द्र निर्माणका लागि माओवादीले पहल थाल्ने



काठमाडौँ। नेकपा माओवादी केन्द्रले कम्युनिष्ट पार्टीहरूसँग एकताका लागि वार्ता, छलफलको थालनी गर्ने निर्णय गरेको छ।

पार्टी कार्यालय पेरिसडाँडामा आइतबार बसेको स्थायी कमिटी बैठकले माधवकुमार नेपालले एमाले छाडेर नेकपा एकीकृत समाजवादी दर्ता गरेलगत्तै माओवादी केन्द्रले कम्युनिष्टहरूलाई एउटै केन्द्रमा ल्याउन पहल गर्ने निर्णय गरेको हो।

कम्युनिष्ट क्रान्तिकारीहरुबीच एकता र ध्रुवीकरणका निम्ति पहल गर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले सञ्चारकर्मीलाई जानकारी दिए।

उनले भने, ‘कम्युनिष्ट आन्दोलनमा देखा परेका, देश र जनताको पक्षमा एउटा वा अर्को रुपमा उभिएका र समाजवादको पक्षमा रहेका सबैसँग हामी वार्ता गर्छौं।’