‘१० बुँदे कार्यान्वयन नभए हामी ओलीसँग रहन सक्दैनौं’



काठमाडौँ। नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले कार्यदलले अघि सारेको १० बुँदे लागू भएन भने पार्टी विभाजन अपरिहार्य बन्ने दाबी गरेका छन्। साथै उनले १० बुँदे कार्यान्वयन नगरे पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग रहन नसक्नेसमेत जानकारी दिएका छन्।

साथै उनले पार्टी अध्यक्ष केपी शर्मा ओलीका कर्मले एमालेको घरमा मेलम्ची पसेको तर्कसमेत गरेका छन्। आइतबार अनलाइनखबरसँग दिएको अन्तरवार्तामा उनले भनेका छन्, ‘५ पुस २०७७ मै पार्टी साबिकको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का रुपमा विभाजन भएको थियो। कानूनी रुपमा एमाले र माओवादी केन्द्र ब्युँतिसकेपछि पनि फागुुन २८ गते कमरेड ओलीले आफ्ना केही मान्छेहरु जम्मा गरेर यही हो पार्टी भन्नुभयो। त्यसदिन नै ‘भर्चुअल्ली’ पार्टी विभाजन गर्नुभएको हो।’

उनले अगाडि भनेका छन्, ‘ओलीजीले यहाँ बस्दै दिनुभएन, प्रक्रियागत रुपले सबैले आफ्ना कुरा राख्ने स्थिति पनि भएन भने सोच्ने कुरा हो भनेर साथीहरुले भन्नु स्वभाविक हो। त्यसका लागि (सँगै बस्ने वातावरण बनाउन) १० बुँदे सहमति गरेका थियौं। त्यो सहमति लागू हुँदै भएन भने विभाजन अपरिहार्य बनिदिन्छ।’

१० बुँदे कार्यान्वयन गराएर पार्टीलाई एकतावद्ध बनाउने मोर्चामा उभिएको भन्दै आफूले माधव नेपाललाई धोका नदिएको स्पष्ट पारेका छन्। उनले भने, ‘सामाजिक सञ्जालमा गरिएका टिप्पणीहरुको उत्तर दिन्नँ भनेको छु। माधव कमरेडले ‘घनश्याम भुसालले धोका दिनुभयो’ भन्नुभयो भने यस विषयको उत्तर दिनेछु। किनकि यो सम्पूर्ण प्रक्रियामा मैले एक पटक पनि माधव कमरेडलाई उचालेको भन्ने पुष्टि हुने काम गरेको छैन।’

उनले भने, ‘म विभाजनको पक्षमा लागौंला वा नलागौंला एउटा विषय हो, तर विभाजन अपरिहार्य बन्छ। किनभने, १० बुँदे उहाँले नै कवुल गरेको हो। त्यो लागू हुन्छ कि हुन्न भनेर अझै छलफल गर्नुपर्थ्यो भन्ने मात्र मेरो कुरा हो। जस्तो: हामीले अहिले भनेका छौं, १० बुँदे लागू गर्नुस्। १० बुँदे साच्चै लागू गर्नु भएन भने तपाईहरु अर्थात् ओलीजीसँग रहन सक्दैनौं।’