माओवादी केन्द्रका नेताहरूको कार्य विभाजन सम्बन्धि छलफल



काठमाडौँ। सत्ता साझेदार नेकपा (माओवादी केन्द्र) ले पार्टी नेताहरुको कार्य विभाजनसम्बन्धी छलफल शुरु गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार बसेको स्थायी समिति बैठकमा पार्टीका नेताहरुको कार्य विभाजन, आसन्न पार्टीको राष्ट्रिय सम्मेलनलगायतको तयारीलगायतका सांगठानिक कामलाई टुंगो लगाउने गरी छलफल शुरु गरेको हो।

आइतबार बिहान बस्ने बैठकमा टुंगो लगाउने गरी नेताहरुको कार्य विभाजन, आगामी पुस ११, १२ र १३ गते आयोजना हुने राष्ट्रिय सम्मेलनको तयारीका विषयमा पनि छलफल शुरु गरिएको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

‘सांगठानिक कतिपय विषयहरुको बारेमा निर्णय लिन केन्द्रीय समितिले स्थायी समितिलाई जिम्मेवारी दिएको थियो। केन्द्रीय समितिको रिक्त पद पूर्ति गर्ने कि नगर्ने? प्रदेशमा रहेका रिक्त पदाधिकारी पूर्ति गर्ने कि नगर्ने?

केन्द्रीय सदस्यहरुको कार्य विभाजन गर्ने, विषयमा स्थायी समितिले निर्णय लेओस् भनेर केन्द्रीय समिति बैठकले निर्देशन दिएको थियो । आजको बैठक मुख्यरुपमा यही विषयमा केन्द्रित थियो’ उनले भने।