काठमाडौं। अर्थमन्त्री जनार्दन शर्माले कर्णाली प्रदेश विद्यमान गरिबीलाई घटाउनका लागि बैंकहरुले लगानी बढाउनु पर्नेमा जाेड दिएका छन्।
कर्णाली प्रदेशमा बहुआयामिक गरिबीको दर सबैभन्दा बढी रहेको भन्दै अर्थमन्त्री शर्माले प्रदेशको विकासका लागि बैंकहरुले लगानी बढाउनु पर्नेमा जाेड दिएका हुन्।
बिहिबार कर्णाली प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयले काठमाडौंमा आयोजना गरेको कर्णाली प्रदेशमा प्रत्येक घर स्वरोजगार कार्यक्रम’ विषयक अन्तरक्रियामा बाेल्दै मन्त्री शर्माले कर्णाली, सुदुरपश्चिम र प्रदेश नं. २ को गरिबी अन्त्य नगरी राष्ट्रको गरिबी अन्त्य नहुने उल्लेख गरेका थिए।
राष्ट्रिय योजना आयोगले हालै सार्वजनिक गरेको सन २०१९ सम्मको तथ्याङ्क अनुसार कर्णाली प्रदेशमा बहुआयामिक गरिबी दर ३९.५ प्रतिशत, सुदुरपश्चिम प्रदेशमा २५.५ प्रतिशत र प्रदेश नं. २ मा बहुआयामिक गरिबी दर २४.५ प्रतिशत रहेको छ।