एमालेको तेस्रो धारमा ५७ जना



काठमाडौँ। नेकपा एमाले तेश्रो धारको भेलाले विद्यमान राष्ट्रिय र अन्तर्राष्ट्रिय राजनीतिक परिवेशमा पार्टी एकता अत्यन्त महत्वपूर्ण भएको निष्कर्ष निकालेको छ।

शुक्रबार काठमाडौँमा आयोजित भेलाले सो निष्कर्ष निकालेको हो। भेलापछि जारी संयुक्त वक्तव्यमा एमालेमा विभाजनको सकट आइलागेको बताउँदै थप विभाजन र विनाशको दिशातर्फ धकेलिनबाट पार्टीलाई जोगाउने चुनौती अगाडि आएको बताइएको छ।

वक्तव्यमा भनिएको छ, ‘अब नेकपा (एमाले) लाई विभाजन र विनाशको दिशातर्फ धकेलिनबाट जोगाउने चुनौती हाम्रा सामु छ। यसमा पार्टीका सबै इमान्दार नेता, कार्यकर्ता र सदस्यहरुको सकारात्मक भूमिका अपरिहार्य छ।’

नेपालको कम्युनिष्ट आन्दोलनलाई कमजोर तुल्याउन देशी–विदेशी प्रतिक्रियावादीहरु लागिपरिरहेको स्थितिमा मतभेद र अन्तरविरोधहरुलाई पार्टीको आन्तरिक प्रक्रियाबाट समाधान गर्दै अघि बढ्नु बुद्धिमानी हुने जनाउँदै संयुक्त वक्तव्यमा भनिएको छ, ‘त्यस्तै राजनीतिक, सैद्धान्तिक र वैचारिक विषयहरुमा नेकपा (एमाले) को विधिसम्मत पद्धति अनुरुप पार्टी भित्र छलफल र बहसबाट निष्कर्ष निकाल्ने दिशामा अगाडि बढ्नुपर्छ।’

भेलामा एमाले केन्द्रीय कमिटीका सदस्य तथा सांसदहरु समेत गरी ५७ जनाको सहभागिता रहेको जनाइएको छ। संयुक्त वक्तव्यमा एमाले तेश्रो धारका ९ जना नेताहरुले हस्ताक्षर गरेका छन्।

 

<