काठमाडौँ। राजनीतिक दलसम्बन्धी अध्यादेशमा टेकेर निर्वाचन आयोगले राजनीतिक दलसम्बन्धी नियमावली संशोधन गरेको छ।
संशोधित नियमावली विहीबार नै राजपत्रमा प्रकाशित भइसकेको छ। माधव नेपाल वा महन्थ ठाकुरको पार्टीमा लाग्न चाहने जनप्रतिनिधिले २१ दिनभित्र पार्टी प्रवेश गर्दा दल त्याग गरेको नमानिने अध्यादेशले भनेको थियो।
निर्वाचन आयोगले अध्यादेशको यो व्यवस्थालाई अझ खुकुलो र सरल बनाइदिएको छ। संशोधित नियमावली अनुसार प्रदेशसभाका सांसदहरुले नयाँ दल रोज्ने क्रममा निर्वाचन आयोगको केन्द्रीय कार्यालयमा आइराख्नुपर्दैन। उनीहरुले प्रदेश निर्वाचन कार्यालयमै सम्पर्क गरे हुने संशोधित नियमावलीमा उल्लेख छ।
स्थानीय तहका जनप्रतिनिधिहरुले भने नयाँ दलमा लाग्न चाहेमा त्यसको सूचना सम्बन्धित जिल्ला निर्वाचन कार्यालयलाई २१ दिनभित्र उपलब्ध गराए पुग्ने भएको छ। २१ दिनभित्र नयाँ दल रोज्ने जनप्रतिनिधिहरूलाई दल त्याग गरेको नमानिने अध्यादेशले व्यवस्था गरेको छ।