काठमाडौँ। माधव नेपाल मानिने नेकपा एमालेका ९ जना नेताले संयुक्त विज्ञप्ति जारी गर्दै १० बुँदे सहमति कार्यान्वयन नहुँदा पार्टी फुटेको निष्कर्ष निकालेका छन्।
बिहिबार राति संयुक्त विज्ञप्तिमा उपाध्यक्षहरु युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल र उपमहासचिव घनश्याम भुसाल, भीम आचार्य, गोकर्ण विष्ट, योगेश भट्टराई रहेका छन्। त्यस्तै स्थायि कमिटी सदस्यहरु सुरेन्द्र पाण्डे र रघुजी पन्त छन्।
९ जना नेताद्वारा जारी संयुक्त वक्तव्यमा भनिएको छ,‘त्यो सिफारिस एकताको बलियो आधार थियो, त्यसले पार्टी पंक्तिमा आशा र उत्साह जगाएको थियो। तर, त्यस सिफारिसलाई नेताहरुले ग्रहण गर्न र समझदारी लागू गर्न नसक्दा पार्टी नै विभाजन हुने स्थिति सिर्जना भयो।
एमाले नेताहरुद्वारा जारी विज्ञप्तिमा देउवा सरकारले जारी गरेको राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेशले एमालेमा मात्र संकट आउने नभई यसले सम्पूर्ण राजनीतिक पार्टीमा प्रभाव पार्ने र राजनीतिक अनिश्चयको दलदलमा फस्ने भन्न्दै अध्यादेश तत्काल फिर्ता गर्न माग गरिएको छ।
त्यसैगरी, नेताहरुले माधव नेपाल पक्षका १४ सांसदमाथि गरिएको कारवाही तत्काल फिर्ता लिन माग गरेका छन्। साथै पार्टी विभाजनले कसैको पनि हित नगर्ने भन्दै अलग पार्टी दर्ताको प्रक्रियालाई पनि तत्काल रोकी एकता प्रक्रियामा सहभागी हुन माधव नेपाल पक्षलाई समेत आग्रह गरिएको छ।
विज्ञप्ति हेर्नुहोस्