तालिवानले मनायो १०२ औं स्वतन्त्रता दिवस



काठमाडौँ। बिहीबार अफगानिस्तानको १०२औं स्वतन्त्रता दिवसको अवसरमा देशका विभिन्न सहरमा राष्ट्रिय झण्डासहितको प्रदर्शन भएको छ।

तालिबानले कब्जा गरेपछिको अनिश्चितताको बीचमा मानिसहरुले राष्ट्रिय झण्डासहित प्रदर्शन गरेका हुन्। यसैबीच तालिबानले पनि अफगानिस्तानको १०२औं स्वतन्त्रता दिवसलाई सम्बोधन गरेको छ।

तालिबानले अहिले बेलायतबाट स्वतन्त्रता दिवस मनाइरहेको बताउँदै अर्को अहंकारी पश्चिमा शक्ति अमेरिकालाई पनि हराएको उल्लेख गरेको छ। दक्षिण एशियाली देशहरुमा सबैभन्दा पहिले (सन् १९१९) विट्रिसबाट स्वतन्त्र हुने देश हो अफगानिस्तान। तर, त्यो देश आजका दिनसम्म पनि आन्तरिक तथा बाह्य हस्तक्षेपको सिकार भइरहेको छ।

सामाजिक सञ्जालमा शेयर गरिएको एक भिडियोमा काबुलमा मानिसहरुले ‘हाम्रो झण्डा, हाम्रो पहिचान’ भन्ने नारा लगाइरहेको देखिन्छ। अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सका अनुसार बिहीबार आसादाबाद सहरमा भएको प्रदर्शनको क्रममा तालिबानले गोली चलाउँदा दुई जनाको मृत्यु भएको छ।

यसअघि बुधबार जलालबादमा पनि राष्ट्रिय झण्डाको पक्षमा भएको प्रदर्शनमा केहीको मृत्यु भएको थियो। अफगानिस्तानको खोस्टमा मानिसहरुले तालिबानविरुद्ध प्रदर्शन गर्न थालेसँगै कफ्यू लगाइएको छ। बिहीबार सामाजिक सञ्जालमा शेयर गरिएका भिडियोमा मानिसहरुले धेरै ठाउँबाट तालिबानको झण्डा हटाइरहेको देख्न सकिन्छ।