बामदेव गौतम एमाले-समाजवादीको कित्तामा



काठमाडौँ। नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले नेकपा एमाले समाजवादीको कित्तामा उभिएका छन्।

एमाले समाजवादीमा एकताको जिम्मेवारी आफूलाई दिन प्रस्ताव राख्ने र डेढ वर्षभित्रै पार्टी एकता गर्ने नेता गौतमको दाबी छ। राष्ट्रिय एकता अभियानको भर्चुअल बैठकमा गौतमले उक्त कुराको जानकारी दिएका हुन्।

माधव कुमार नेपाल नेतृत्वको एमाले समाजवादीको बैठकमा सहभागी हुने बताउँदै गौतमले भने, ‘माधव नेपाल नेतृत्वको बैठकमा पहिले प्रस्ताव राख्छु, एकताको जिम्मेवारी मलाई दिनुहोस्। उहाँले दिनुहुन्छ, मलाई विश्वास छ।’

एमाले अध्यक्ष केपी ओलीले भने एकताको जिम्मेवारी नदिएको उनको गुनासो छ। ‘केपी ओलीतिर गएँ नि, केपी ओलीले त जिम्मै दिएनन्। मैले जिम्मेवारी मागेका थिएँ’ उनले भने, ‘तर माधव नेपालतिर गएपछि मलाई दिनुहुन्छ।’

माधव नेपालले वार्ताको जिम्मेवारी दिए डेढ वर्षभित्रै एकता गर्ने उनको दाबी छ। भर्चुअल बैठकमा सहभागीहरूमध्ये केहीले माधव नेपालकै पार्टीमा सामेल हुनुपर्ने प्रस्ताव राखेका थिए भने केहीले एकता अभियानमै रहनुपर्ने अडान लिएका थिए।

बैठकले भने दुवै तर्फसँग वार्ता र सम्वादको जिम्मेवारी संयोजक गौतमलाई दिने निर्णय गरेको एक सहभागी बताए। उनका अनुसार भर्चुअल बैठकमा ७७ जना सहभागी थिए।