तस्बिर: मुकुन्द कालिकोटे
काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रस्तावित नेकपा एमाले-समाजवादीको सनाखत भएकै दिन मन्त्रीपरिषद विस्तार हुने जानकारी दिएका छन्।
बिहिबार समाजवादी केन्द्र नेपालले आयोजना गरेको ‘२१औं शताब्दिको मार्क्सवाद र समाजवाद’ विषयक अन्तरक्रियामा बोल्दै प्रचण्डले उक्त जानकारी दिएका हुन्।
उनले भने, ‘हिजोबाट नयाँ परिस्थिति बनेको छ। आज (बिहिबार) माबै प्रधानमन्त्री शेरबहादुर देउवा, म र माधव नेपाललगायतका नेताहरु बसेका थियौं। अब मन्त्रीपरिषद विस्तार गर्न कुनै ढिला गर्नु हुन्न भन्नेमा पुगेका छौं। दर्ता भएको पार्टी (एमाले-समाजवादी) को सनाखत भएकै दिन मन्त्रीपरिषद विस्तार हुन्छ। जति छिटो पार्टीको सनाखत हुन्छ, त्यति नै छिटो मन्त्रीपरिषद विस्तार हुन्छ।’
साथै उनले दल विभाजन सम्बन्धि अध्यादेशका बारेमा मुख खोलेका छन्। पहिले केपी शर्मा ओलीले ल्याएको र अहिले प्रम देउवाले ल्याएको अध्यादेशबीच अकास जमिनको फरक भएको भन्दै प्रचण्डलाई अन्यथा नलिन आग्रह गरेका छन्।
प्रचण्डले भने, ‘अध्यादेशका बारेमा धेरै नै प्रश्नहरु उठेका छन्। पहिले ओलीले अध्यादेश ल्याउँदा हामीले चर्को विरोध गरेकै हो। अहिले फेरी गठबन्धनको सरकार हुँदा पनि त्यहि अध्यादेश आयो भनेर भनिएको छ। एउटा अध्यादेश संविधान, लोकतन्त्र र गणतन्त्रलाई सिध्याउनु थियो। अर्को अध्यादेशको उद्देश्य लोकतन्त्र, संविधान र गणतन्त्रको रक्षा गर्नुछ। पहिले र अहिलेको अध्यादेशबीच आकास जमिनको फरक छ। बढो निरपेक्ष र आदर्शवादी ढंगले सबै अध्यादेश उस्तै हुन् भन्ने कुरा सत्य होइन। लोकतन्त्र सक्ने र लोकतन्त्रलाई बचाउने अध्यादेशलाई एउटै हो भन्ने गल्ति नगरौं।’