कम्युनिष्ट विभाजन: केशरजंगदेखि माधव नेपालसम्म



काठमाडौँ। एमाले विभाजन भएपछि नेपाली कम्युनिस्ट आन्दोलनमा थप एउटा फुट दर्ता भएको छ। नेपाल कम्युनिस्ट पार्टीको ७२ वर्षको इतिहासमा अनेक पटक फुट्दै र जुट्दै आएको छ।

२००६ साल वैशाख १० गते भारतको कोलकातामा नेपाल कम्युनिस्ट पार्टीको गठन भएयता यो पार्टी विभिन्न चिरामा विभक्त भएको छ। नेकपाका संस्थापक नेता पुष्पलाल श्रेष्ठ, नरबहादुर कर्माचार्य, निरञ्जन गोविन्द वैद्य, नारायणविलास श्रेष्ठ र मोतीदेवी हुन्। ७२ वर्षको इतिहासमा एमाले धेरै पटक फुटेको छ।

२०१० मा पार्टीको पहिलो महाधिवेशनमा मनमोहन अधिकारी महासचिवमा निर्वाचित भए। १४ सालको दोस्रो महाधिवेशनबाट केशरजंग रायमाझी महासचिव बने। रायमाझी राजालाई मानेर अघि बढ्नुपर्छ भन्ने पक्षमा थिए। उनकै कारण २०१७ सालपछि कम्युनिस्ट पार्टी पहिलो पटक विभाजन भयो। उति बेला राजा महेन्द्रको कदमलाई समर्थन गर्ने या नगर्ने भन्ने विषयमा विवाद हुँदा नेकपा फुटेको थियो।

राजा महेन्द्रले शासनसत्ता हातमा लिएर निर्वाचित प्रधानमन्त्री बीपी कोइरालालाई जेल हालेका थिए। रायमाझीले त्यसको स्वागत गरे। पुष्पलाल, मोहनविक्रम सिंह र तुलसीलाल अमात्य र मनमोहन अधिकारी शाही कदमको विपक्षमा उभिए। रायमाझी त पछि राजावादी बनेर तत्कालीन राजसभा स्थायी समितिको सभापतिसम्म बने।

२०२३ सालसम्म आइपुग्दा नेकपाको पूर्व मेची कोसी प्रान्तीय कमिटी गठन भयो। यस्तै रायमाझीको समूह अलग भयो। एक वर्षपछि पुष्पलालले नेकपाको तेस्रो महाधिवेशन गराए। २०२५ सालमा तुलसीलाल अमात्य र पुष्पलाल अलग भए। २०२८ सालमा झापा जिल्ला कमिटी र केन्द्रीय न्युक्लियसका रूपमा कम्युनिस्ट पार्टीको अस्तित्व देखियो।  पुष्पलाल भने दुवैमा थिएनन्।

झापा कमिटीको नेतृत्व सीपी मैनालीले गरे।  त्यो दलले पञ्चायत फाल्न झापा विद्रोह चलाएका थिए। अर्कोको नेतृत्व मोहनविक्रम सिंहले गरे। उनको लाइन भने भारतीय विस्तारवाद र सामन्तवादविरुद्ध पनि थियो। नेपालको कम्युनिस्ट आन्दोलनमा यी दुई समूहबीचको ध्रुवीकरण भने लामो समयसम्म जारी रहेको थियो। २८ सालदेखि आजसम्म यी दुई समूह धेरै पटक फुटेका छन् भने कुनैकुनै बेला जुटेका पनि छन्।

०२८ सालमा केपी शर्मा ओली झापाली समूहको सक्रिय युवा नेता थिए। पुष्पकमल दाहाल कुनै धारमा थिएनन्। पुष्पलालसँग हिमचिम बढेपछि केही समय सँगै रहेका दाहाल मोहनविक्रम सिंहको चौथो महाधिवेशनमा आबद्ध भए। सोही समूहमा भक्तबहादुर श्रेष्ठ र निर्मल लामा पनि थिए।

२०३५ साल साउनमा पुष्पलालको निधन हुनुअघि उनी निकट रहेका मदन भण्डारी, वामदेव गौतमजस्ता नेताहरू अलग भएर मुक्ति मोर्चा समूह बनाइसकेका थिए। झापाली विद्रोही समूह भने अखिल नेपाल कोअर्डिनेसन कमिटीमा रुपान्तरण भएको थियो। यी दुवै समूह मिलेर २०३५ पस ११ नेकपा (माले) गठन भयो। महासचिव बने सीपी मैनाली।

०३६ सालमा मनमोहन अधिकारीले नेपाल कम्युनिस्ट पार्टी (मनमोहन) दल खोले। अधिकारीले जनमत संग्रहमा बहुदलका पक्षमा चुनावमा भाग लिए। नेपाली कांग्रेसलाई साथ दिए। कांग्रेससँग उनको यो साथ २०४६ सालको आन्दोलनसम्म निरन्तर रह्यो। सोही कारण पञ्चायती व्यवस्था अन्त्य हुन पुग्यो।

नेकपा मालेले भने जनमत संग्रहमा बहिष्कार गरेको थियो। पुष्पलालको निधनपछि उनको पार्टीमा बलराम उपाध्याय र सहाना शीर्ष तहमा रहे।  यो समूह २०४३ सालमा मनमोहन अधिकारीको पार्टीसँग एकता भई नेकपा (मार्क्सवादी) गठन भयो।

२०४६ को आन्दोलनअघि पञ्चायतविरुद्ध लड्न मनमोहन नेतृत्वको मार्क्सवादी पार्टी र सीपी मैनालीको मालेसहित अन्य साना समूह मिलेर संयुक्त वाममोर्चा बन्यो। वाममोर्चाले नेपाली कांग्रेससँग मिलेर संयुक्त आन्दोलन गर्यो। त्यसपछि वाममोर्चाले संसदीय व्यवस्थामा प्रतिस्पर्धामा उत्रियो।

पञ्चायतको अन्त्यपछि मनमोहन र सीपीको पार्टीबीच एकता भयो र बन्यो नेपाल कम्युनिस्ट पार्टी ९एमाले०। महासचिवमा भए मदन भण्डारी। २०५० जेठ ३ गते मदन भण्डारीको निधन भएपछि माधवकुमार नेपाल महासचिव बनेका थिए।

भारतसँग गरेको महाकाली सन्धिलाई लिएर पार्टीभित्र तीव्र मतभेद चल्यो। माधवकुमार नेपाल र केपी ओली यो सम्झौताको पक्षमा थिए भने वामदेव गौतम विपक्षमा। अन्ततस् गौतमले २०५४ सालमा पार्टी फुटाए। फेरि माले अस्तित्वमा आयो। वामदेवसँग सीपी मैनाली पनि थिए। अहिले वामदेव पार्टी एकता कायम गराउने मध्यस्थ भूमिकामा छन् भने सीपीको माल त्यति अस्तित्वमा छैन। फुटको पाँच वर्षपछि फेरि गौतम एमालेमै फर्किए। तर मैनाली मालैमा बसिरहेका छन्।

उता मोहनविक्रम सिंहको चौथो महाधिवेशनले २०३६ सालको जनमत संग्रह बहिष्कार गरेको थियो। जनमत संग्रहलाई लिएर पार्टीभित्र मतभेद देखिएको थियो। निर्मल लामाले जनमत संग्रहलाई उपयोग गर्नुपर्ने पक्षमा थिए भने मोहनविक्रमले त्यसलाई मानेनन्। २०४० सालमा लामा समूहको अगुवाइमा नेकपा (चौम) गठन भयो। मोहनविक्रमको समूहले भने पार्टीको नाम नेकपा मसाल राख्यो।  महामन्त्री भए मोहनविक्रम।

नेकपा मसालको पाँचौं महाधिवेशनले महामन्त्री सिंहको राजनीतिक लाइन पास गर्‍यो। तर उनीमाथि यौनदुराचारको आरोपमा कारबाही गरियो। मसालमा यहाँबाट सुरु भएको फुटको शृंङ्खला धेरै समयसम्म रह्यो। अरू मिल्ने र फुट्ने गरे पनि सिंह र दाहालबीच एकता हुन सकेन।

२०४१ सालमा भएको पाँचौं महाधिवेशनबाट महामन्त्रीमा मोहन वैद्य निर्वाचित भएका थिए। फेरि श्रीलंकाको तमिल विद्रोहलाई समर्थन गर्ने कि विरोध भन्ने विषयमा दलमा मतभेद भयो। मोहनविक्रमले चित्रबहादुर केसीसहित ४ जना केन्द्रीय सदस्य लिएर नयाँ पार्टी बनाए- नेकपा मसाल। नेकपाको त्यो हाँगो पातलो मसाल र मोटो मशालमा विभाजित भयो। वैद्य नेतृत्वको पार्टीको नाम नेकपा मशाल थियो।

दाहाल २०४५ सालमा नेकपा मशालको महामन्त्री भए। त्यसले  माओवादलाई पार्टीको प्रमुख सिद्धान्त मान्ने निर्णय गर्‍यो। यी दुवै दल २०४६ सालको आन्दोलनमा संयुक्त वाम मोर्चामा गएनन्।

नेकपा (मशाल), नेकपा (मसाल), सर्वहारा श्रमिक संगठन (नेपाल मजदुर किसान पार्टी), नेकपा (चौम) लगायत मिलेर संयुक्त जनआन्दोलन संयोजन समिति बनाए। बहुदलपछि दाहालको पार्टी मशाल, निर्मल लामाको पार्टी नेकपा चौम, सर्वहारावादी श्रमिक संगठन र रूपलाल विश्वकर्माको समूह मिलेर नेकपा (एकता केन्द्र) राखियो। मोहनविक्रमको पार्टी रहेका बाबुराम भट्टराई पनि यही पार्टीमा आबद्ध भएका थिए।

दुई वर्षपछि सशस्त्र युद्धको विषयलाई लिएर मतभेद सुरु भयो। निर्मल लामाहरूले एकता केन्द्र छोडे। २०५१ मा निर्मल लामा, नारायणकाजी श्रेष्ठ, अमिक शेरचन, लीलामणि पोख्रेल संलग्न भएर ने.क.पा. (कताकेन्द्र) गठन भयो।

दाहाल नेतृत्वको एकता केन्द्रले नाम परिवर्तन गरेर नेकपा माओवादी राख्यो। त्यसपछि दाहालको अगुवाइमा सशस्त्र युद्ध सुरु भयो। १७ हजारभन्दा नेपालीको ज्यान गएपछि माओवादी २०६३ मा शान्ति प्रक्रियामा सामेल भयो। २०५९ सालमा मोहनविक्रम सिंह नेतृत्वको मसाल र  नारायणकाजी श्रेष्ठ नेतृत्वको एकता केन्द्रबीच एकता भए पनि माओवादीलाई हेर्ने दृष्टिकोणमा भने मतभेद कायमै रह्यो। यो समूहमा २०६३ सालमा आएर फेरि चिरा परेको थियो।

२०६२र०६३ को जनआन्दोलनपछि माओवादीले हिंसाको राजनीति छाड्यो र  एमाले र कांग्रेससँगै लोकतान्त्रिक संसदीय व्यवस्थामा मिसिन आइपुग्यो। २०६ ४को पहिलो संविधान सभा चुनाव लड्यो। यसबीच नारायणकाजी श्रेष्ठको एकता केन्द्र माओवादीमा विलय भयो। मोहन वैद्य र नेत्रविक्रम चन्द फुटेर दुईटा छुट्टाछुट्टै पार्टी खोले। बाबुराम भट्टराईले कम्युनिष्ट आन्दोलन छोडेका छन्। माओवादीबाट अलग भएका बाबुराम नयाँ शक्तिका संयोजक हुँदै अहिले जनता समाजवादीको संघीय परिषद्को अध्यक्ष छन्।

२०७५ सालमा माओवादी र एमालेबीच एकता भएको थियो। एकतापछि नै संघीय प्रतिनिधिसभामा नेकपाले झन्डै दुई तिहाइको सरकार बनायो। सात प्रदेशमध्ये ६ वटा प्रदेशमा नेकपाकै सरकार थियो। पार्टीभित्रको विवादकै कारण गण्डकी प्रदेश र लुम्बिनी प्रदेश सरकारबाट एमाले बाहिरिएको छ। कर्णाली र सुदूरपश्चिममा भने माओवादी नेतृत्वको सरकार छ।

 २०७७ फागुन २३ गते सर्वोच्च अदालतले एमाले र माओवादीबीचको एकतालाई पुरानै अवस्थामा फर्काइदिएपछि विवादमा रुमल्लिँदै आएको एमाले विभाजन भएको छ।