साइबर स्यालहरुले फोटो इडिट गरेर चरित्र हत्या गरे: सांसद वली



काठमाडौँ। लुम्बिनी प्रदेशसभा सदस्य विमला कुमारी खत्री (वली) ले फोटो इडिट गरेर साइबर स्यालहरुले आफ्नो चरित्र हत्या गर्न खोजिएको बताएकी छन्।

वाईसीएल कार्यकर्ता एकराज बस्नेत र आफ्नो फोटो इडिट गरेर चरित्र हत्या गर्न खोजिएको बताएकी छन्। बुधबार आफ्नो फेसबुक वालमा विज्ञप्ति पोष्ट गर्दै विमलाले राजनीतिक प्रतिशोध साँधेर फसाउन खोज्ने झुण्डले यस्तो गतिबिधि गरकोे बताएकी छिन्।

‘हिजो एकाएक सामाजिक सञ्जालमा मेरो फोटोलाई फोटोसपबाट मिलाएर जुन किसिमले चरित्र हत्या गर्ने दुस्प्रयास गरियो यसको म कडाभन्दा कडा निन्दा गर्न चहान्छु’ उनले भनेकी छन्, ‘एकाएक मेरो फोटो जोडेर आउँदा म आफैं आश्चर्यचकित भएकी छु। म यो घटनामा सम्बन्धित छैन र जानकार पनि छैन।’

विमलाले बस्नेतको गालामा चुम्बन गरेको फोटो सामाजिक सन्जालमा भाइरल भएपछि उनले स्पष्टीकरण दिएकी हुन्। आफ्नो चरित्रमाथि दाग लाग्ने गरी ‘साइबर स्याल’हरुबाट चरित्र हत्याको दुस्प्रयास भएको भन्दै उनले यसमा संलग्नमाथि कारवाहीको माग गरेकी छन्।

आफूले माओवादी पार्टी रोजेपछि एमालेमै रहन पटक–पटक दबाब दिइएको भएपनि आफू प्रतिबद्ध भएर माओवादी केन्द्रमै रहेपछि यसरी चरित्र हत्या गर्न खोजिएको उनको भनाइ छ। ‘माओवादी केन्द्रं रोजेपछि केही तत्वहरुबाट ममाथि पटक–पटक आक्रमण गर्ने प्रत्यत्न गरिरहेका थिए, मुख्यमन्त्री कार्यालयमा एक हप्ता बन्धक बन्नु पनि त्यसैको उपज थियो।

अहिले पनि पटक–पटक मलाई पार्टी परित्याग गर्न दवाब आइरहेको थियो। तर, म आफ्नो पार्टीप्रति प्रतिबद्ध हुँदा मेरो राजनीतिक जीवनलाई धरापमा पार्ने दुस्प्रयास स्वरुप नै मेरो चरित्र हत्या गर्न खोजिएको हो। यसमा कोही पनि भ्रममा नपर्न अनुरोध गर्दछु’ विज्ञप्तिमा उनले लेखेकी छन्।

वाइसीएल कार्यकर्ता बस्नेतले पनि आफ्नो फेसबुक आइडी कसैले ह्याक गरेर फोटो इडिट गरी भ्रम छर्न खोजेको बताएका छन्। ‘मेरो फेसबुक कसैले ह्याक गरेर फोटो इडिट गरी भ्रमको खेती गरिएकोमा दुखित र गम्भीर बनाएको छ’ फेसबुक वालमा बस्नेतले लेखेका छन्, ‘नाताले विमला मेरो दिदी हुनुहुन्छ, राजनीतिक प्रतिशोध साधेर चरित्र हत्या र बद्नाम गर्न खोजिएको छ।’ बस्नेतले भ्रमको पछि नलाग्न आग्रह गरेका छन्।

तत्कालीन नेकपाबाट उपनिर्वाचन जितेकी विमलाले नेकपा खारेजपछि माओवादी केन्द्र रोजेकी थिइन्। उनलाई एमालेले पार्टीमा ल्याउन निकै प्रयास गरेपनि असफल भएको थियो। लुम्बिनी प्रदेशमा एमाले नेता शंकर पोखरेल नेतृत्वको सरकार गिर्न विमला नै निर्णायक बनेकी थिइन्।