‘नेकपा एमाले (समाजवादी) आजै दर्ता हुन्छ’



काठमाडौँ। नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले बुधबार नै नयाँ दल नेकपा एमाले (समाजवादी) दर्ता गर्ने तयारी थालेकाे छ।

नेपाल समूहका नेताहरुबीच बानेश्वरस्थित अर्याल होटलमा छलफलमा जारी छ। छलफलमा उपस्थित नेपाल समूहका नेता जगन्नाथ खतिवडाले आज बुधबार नै नयाँ दल दर्ता गर्ने बताए।

नयाँ दलको नाम नेकपा एमाले समाजवादी राखिनेछ भने चुनाव चिन्ह खुला किताब प्रस्ताव गरिने उनले बताएका छन्। उनले आज डराएकाहरु भोली पार्टीमा सहभागी हुने, आज पार्टी निर्माण गलत लाग्नेलाई भोली सहि लाग्ने उल्लेख गरे। उनले भने, ‘यो अभियान अघि बढ्यो। इमान्दार, नैतिकवान, आदर्श कम्युनिष्टहरुको संगठन आज जन्मँदैछ। अरु मान्छेहरु बिस्तारै यसमा समावेश हुँदै जानेछन्।’

सरकारको सिफारिसमा संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशत पुर्‍याएर दल विभाजन गर्न सकिने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि नेपाल समूहले दल दर्ताको तयारी गरेको हाे।