काठमाडौँ। नेपाल विद्युत प्राधिकरणको ३६औं वार्षिकोत्सव मनाएको छ।
साे अवसरमा मंगलबार आयोजित कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले आगामी दिनमा वर्षायामको विद्युत खेर जान सक्ने अवस्थालाई मध्यनजर गरि आन्तरिक खपत बढाउने कार्य योजनालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नु पर्ने बताइन्।
त्यस्तै सरकारले मुलुकभित्रै खपत बढाउन फरक–फरक विद्युत उपभोक्ता महसुल लागू गर्ने भएको छ। प्राधिकरण सञ्चालक समिति अध्यक्षसमेत रहेकी भुसालले भनिन् ‘आन्तरिक खपत बढाउन यसलाई मध्यनजर गरि वर्षायाम र सुख्खायामको लागि फरक फरक विद्युत महशुल निर्धारण गर्ने र धेरै विद्युत खपत गर्ने ग्राहकलाई महशुलमा सुविधा दिने निर्णय भइसकेको छ, साथै आन्तरिक खपत पश्चात बढी भएको विद्युत छिमेकी देशहरुमा निर्यात गर्ने प्रबन्ध मिलाउन जरुरी छ।’
अबको २ वर्षमा देशलाई पूर्ण विद्युतीकरण गर्ने लक्ष्यलाई सकेसम्म समय अगावै सम्पन्न गर्न कार्ययोजनासहित लाग्न प्राधिकरणलाई निर्देशन दिँदै भुसालले ‘बिदेशी ग्यास छोडौं, स्वदेशी बिजुली जोडौं’ भन्ने नाराका साथ विद्युतीय चुल्होको प्रयोग बढाउदै लाने योजनालाई सहयोग गर्न आग्रह गरिन् ।
‘नेपालको पानि जनताको लगानी’ कायक्रम अन्तर्गत जनताको लगानीमा अपर अरुण १०६० मेगावाट, चैनपुर सेती ४१० मेगावाट, तामाकोशीपाँचौ १०० मेगावाटको आयोजनाको निर्माणलाई अघि बढाउने साथै कर्मचारीहरुको लगानीमा अपर मोदी ६० मेगावाटको आयोजनालाइ निर्माणमा लगिने मन्त्री भुसालले बताइन्। उनले बुटवल–गोरखपुर, केरुंग (चीन)–रातमाटे जस्ता अन्तरदेशीय र पुर्व–पश्चिम, उत्तर–दक्षिण जोड्ने ४०० केभीका प्रशारण लाईनहरुको निर्माण गरि उत्पादित विद्युत खेर नजाने साथै छिमेकी देशहरुमा समेत विद्युत व्यापारको ढोका खोल्ने कार्य गर्न जरुरी रहेको उल्लेख गरिन्।
कार्यक्रममा ऊर्जा, जलस्रोत एवं सिंचाइ मन्त्रालयका सचिव देवेन्द्र कार्कीले स्वदेशी लगानीमा निर्माण भएको ४५६ मेगावाटको माथिल्लो तामाकोसीबाट पाठ सिक्दै १०६१ मेगावाटको माथिल्लो अरुण जलविद्युत आयोजनाको निर्माण तत्काल अगाडि बढाउनु पर्ने बताए। विद्युत नियमन आयोगका अध्यक्ष दिल्लीबहादुर सिंहले चुहावट नियन्त्रण, सुशासन कायम गर्न, विद्युत खपत बढाउन, अर्धजलाशययुक्त तथा जलाशययुक्त ठूला आयोजना निर्माणको नेतृत्व गर्न प्राधिकरणलाई निर्देशन दिए।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत उत्पादनदेखि वितरणसम्मको प्रणाली अनुगमन, नियन्त्रण र व्यवस्थापनमा स्वचालित प्रणालीको प्रयोगमार्फत सञ्चालन लागत घटाई ग्राहकहरुलाई उत्कृष्ट सेवा प्रदान गरिने बताए । विद्युत माग र खपत बृद्घिसँगै वितरण प्रणालीको समेत विस्तार र सुदृढीकरण गर्नुपर्ने भएकोको उल्लेख गर्दै घिसिङले यस्ता कार्यलाई समेत प्राथमिकताका साथ अघि बढाइने जानकारी दिए ।
स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्यान) का अध्यक्ष कृष्ण आचार्यले विद्युत खपत बढाउने बृहत् कार्यक्रममा कार्यान्वयन गर्न, प्रसारण लाइनको निर्माणलाई तिब्रता दिन सुझाव दिए।