कैलालीको बर्दगोरियामा यस वर्ष तिनवटा झोलुङ्गे पुल बन्ने



बौनिया (कैलाली)। कैलालीको बर्दगोरियामा चालू आर्थिक वर्षमा ३ वटा झोलुङ्गे पुल बन्ने भएका छन्।

यस क्षेत्रका प्रतिनिधि सभा सदस्य झपटबहादुर रावलको पहलमा सङ्घीय सरकारको लगानीमा पालिकाको वडा नम्बर २ र ३ जोड्ने कुइरा नदी, वडा नम्बर ३ र ४ जोड्ने कडा नदी र वडा नम्बर ६ र घोडाघोडी नगरपालिकाको वडा नम्बर ३ जोड्ने काडां नदीमा पुल निर्माणको काम सुरु हुने भएको हो।

करिब ३ सय मिटर बढी लम्बाई रहेको वडा नम्बर २ र ३ जोड्ने पुल निर्माणका लागि सस्पेन्सन ब्रिज डिभिजनले टेन्डर आह्वान गरिसकेको छ भने एक सय मिटर बढी लम्बाई रहेका अन्य दुई वटा पुल निर्माणको काम उपभोक्ता समिति मार्फत अघि बढ्ने भएको छ। यसको प्रक्रिया अघि बढाउन स्थानीय पालिकाले सुदूरपश्चिम सामुदायिक विकास मञ्च धनगढीसँग सम्झौता गरेको छ।

डिभिजन मार्फत निर्माण हुने पुल कार्तिक महिनाबाट निर्माण कार्य सुरु गर्ने गरी काम अघि बढेको बताइएको छ। भर्खर टेन्डर खोलेका छौं। पुल निर्माणको काम कार्तिक महिनाबाट सुरु गर्ने गरी अघि बढेका छौं। डिभिजनले भन्यो, ‘निर्माण सम्पन्न कहिले हुन्छ भन्ने विषयमा थप लगानी, निर्माण कम्पनीको सक्रियता र त्यहाँका स्थानीयहरूको निगरानीमा भर पर्छ।’

यता पालिकामार्फत बन्ने अन्य दुई वटा पुल निर्माणको प्रक्रिया भने अघि बढेको छैन। प्रतिकुल मौसमको प्रभावले काम अघि बढ्न नसकेको र अब चाँडै स्थलगत अनुगमन गरी डिजाइन स्टिमेट तयार पार्ने सुदूरपश्चिम सामुदायिक विकास मञ्च धनगढीले जनाएको छ। हामीले सामाजिक तथा प्राविधिक सहयोग गर्ने हो। विकास मञ्चका अध्यक्ष गणेशमान श्रेष्ठले भने, ‘पुलको स्टिमेट तयार पारि पालिकामा पेस गर्छौं र पालिकाले उपभोक्ता समिति गठन तथा आवश्यक कच्चापदार्थका लागि टेन्डर आह्वान गर्ने हो।’ पुलका लागि आवश्यक थप लगानीका लागि समेत पालिकाले माथिल्लो निकायमा अनुरोध गर्नुपर्ने उनको भनाइ छ।

यस क्षेत्रका नागरिकहरूले पुल अभावमा वर्षौंदेखि समस्या भोग्दै आएका छन्। पुल अभावका कारण सिकिस्त बिरामी तथा नदी तर्नैपर्ने बाध्यताका कारण जोखिम मोल्ने धेरैले अकालमै ज्यान गुमाउनु पर्ने बाध्यात्मक अवस्था रहेको छ। यो समस्या समाधानका लागि यस क्षेत्रका नागरिकहरूले बारम्बार सरकारलाई आग्रह गर्दै आएका छन्।